२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

लेटर प्याड दुरुपयोग गरिएको भन्दै गाउँपालिका अध्यक्षको आपत्ति

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ पुष २७ गते २२:११
Shares
लेटर प्याड दुरुपयोग गरिएको भन्दै गाउँपालिका अध्यक्षको आपत्ति

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिकाकी उपाध्यक्षबाट पालिकाको लेटर प्याड दुरुपयोग भएको भन्दै अध्यक्षले आपत्ति जनाएका छन् । 

ncell

उपाध्यक्ष शिला देवीले कार्यालयको लेटरप्याड दुरुपयोग गरेकी भन्दै अध्यक्ष शम्भु सिंहले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । गाउँपालिका कार्यालयको मिति २०८१/०९/१८ गतेको पत्र संख्या २०८१/०८२ चलानी नं. ६८२ को पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंलाई अनुमति तथा राय परामर्श सम्बन्धमा लेखि पठाएको चलानी नं. ६८३ को पत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम धनुषा मधेश प्रदेश, कर्मचारी सम्बन्धमा लेखि पठाएकोले त्यही मिति र चलानी नं. राखी उपाध्यक्षले लेटरप्याड दुरुपयोग गर्दै त्यही कार्यालयमा तथा नेपाल सरकारको विभिन्न निकायमा पत्राचार गरेको भन्दै गाउँपालिका अध्यक्षले आपत्ति जनाएका हुन् । 

गाउँपालिका अध्यक्ष सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गाउँपालिकाको हैसियतले विभिन्न बैठकमा उपस्थित भइ आफैबाट हुने गरेको निर्णयविरुद्ध हुने गरी गाउँ कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित नियमित रुपमा कार्यालयको कामकाज गर्दै आएको कर्मचारीहरुको मनोबल कमजोर हुने गरी विभिन्न आरोप प्रत्यारोप लगाइ गाउँ कार्यपालिकाको मासिक रुपले अनिवार्य बस्नुपर्ने बैठकमा उपस्थित नभइ कार्यपालिका सदस्यहरुलाई समेत कार्यपालिका बैठकमा उपस्थित हुन अवरोध गरी गराइ गाउँपालिकाको निर्णय बमोजिम नियमित सेवा प्रवाहमा प्रत्यक्ष अवरोध सिर्जना गरी  गाउँपालिका अध्यक्षको पदीय मान सम्मानमा नै असर पर्ने गरी र कानुन बमोजिम सम्पादन गर्नुपर्ने आफ्नो पदीय जिम्मेवारी अनुसार कार्य समेत नगरी कुनै व्यक्ति विशेषको इष्याद्वेष राखी कार्यालयको कर्मचारीहरुप्रति नै अवान्छिनीय गतिविधि प्रस्तुत गरी कार्यालयको दैनिक सेवा प्रवाहमा नै अवरोध गरेकोमा मेरो ध्यानाकर्षण भएको छ ।’

गाउँ कार्यपालिकाको पदाधिकारी एवंं सदस्यहरुलाई कानुन विपरित कुनै काम गर्न गराउन छुट नं. रहेको र प्रचलित कानुन बमोजिम अनिवार्यरुपले सम्पादन गर्नु पर्ने अध्यक्ष सिंहको तर्क रहेको छ । 

विज्ञप्तिमार्फत गाउँपालिका उपाध्यक्ष र सदस्यहरुबाट प्रयोग गरिएको गाउँकार्यपालिकाको लेटरप्याड गैरकानूनी रहेकोले मान्यता नदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ । 

गाउँपालिका अध्यक्ष सिंहले बाढीबाट क्षति भएको किसानलाई राहत दिनुपर्ने, हिउँदे अधिवेशन गर्नुपर्ने कार्यमा समेत उपाध्यक्ष र केही कार्यपालिका सदस्यहरुले बाधा अवरोध पुर्‍याउने गरेको आरोप समेत लगाएका छन् ।

सम्बन्धित खबर