काठमाडौं : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाको उच्चस्तरीय भेटवार्ता नहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एस. जयशंकरसँग मन्त्री राणाको भेटवार्ता नहुने निश्चित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गर्ने अपेक्षासहित परराष्ट्रमन्त्री राणाको दिल्ली भ्रमण भएको हो । तर, यस पटक उनले अघिल्लो पटकको जस्तो महत्त्व र सम्मान पाएकी छैनन् ।
परराष्ट्रमन्त्री राणा बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमण गर्दै बिहीबार बिहान दिल्ली पुगेकी हुन् ।
नयाँ दिल्लीमा उनले शुक्रबार भारत–नेपाल आर्थिक सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गरिन् । नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो)को आयोजनामा सम्मेलन भएको हो ।
अथक प्रयासका बाबजुद उनलाई शनिबार रातिसम्म भारतीय संस्थापन पक्षले भेट नदिएको हो । उनले भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री जयशंकर, गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय गुप्तचर संस्था रअका प्रमुख र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेसँग भेट्न खोजेकी थिइन् । तर, सबैले ‘व्यस्तता’ देखाउँदै भेटवार्ता गर्न इन्कार गरेका छन् । भाजपाका विदेश विभाग इन्चार्ज चौथाइवालेलाई राणाले राखी लगाइदिएकी थिइन् ।
नयाँ दिल्लीमा समकक्षी जयशंकरसँग भेटेर प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका सम्बन्धमा छलफल गर्ने नेपाली पक्षको अपेक्षा थियो । तर, भारत सरकारका प्रतिनिधि मात्र नभई सत्तारूढ भारतीय जनता पार्टीका नेताहरूले समेत भेट दिएका छैनन् ।
मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले राणाको यस पटककको भारत भ्रमण द्विपक्षीय भेटघाटका लागि नभई स्वास्थ्य उपचारका लागि मात्र भएको बताए । ‘उहाँ उपचारका लागि भारत जानुभएको हो । राजनीतिक भेटघाटको कार्यक्रम छैन’, उनले भने । भारत जाने कुरा राणा युरोप गएपछि तय भएको उनले बताए ।
यसअघि गत भदौ पहिलो साता मन्त्री राणा भारत भ्रमणमा गएका बेला समकक्षी जयशंकरसहित भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट भएको थियो । अतिव्यस्तताका बाबजुद मोदीले राणालाई भेट दिएका थिए । त्यतिबेला राणालाई भारतले अतिमहत्त्व दिएको चर्चा भएको थियो ।
परराष्ट्र मामिलाका जानकार डा. इन्द्र अधिकारीले यस पटक मन्त्री राणाको भारत भ्रमणको समय र योजना नमिलेको बताइन् । ‘उहाँ विशुद्ध उपचारका लागि जानुभएको हो । त्यस कारण भारतीय नेताहरूले भेट दिनै पर्छ भन्ने छैन’, उनले भनिन् ।
अधिकारीका अनुसार मन्त्री राणाको भारत भ्रमणको ‘प्लानिङ’ पनि थिएन । भारतीय प्रधानमन्त्री र विदेशमन्त्री देशबाहिर भएको समयमा राणाको भ्रमण भएको उनले बताइन् ।
भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकर शनिबार विहान कुवेत प्रस्थान गरेका छन् । कुवेतपछि विदेशमन्त्री जयशंकर अमेरिका जाने कार्यक्रम छ ।
पहिलो औपचारिक भ्रमण भारतबाट गर्ने ‘परम्परा’ तोडेर प्रधानमन्त्री ओली चीन भ्रमणमा गएको विषयलाई भारतले सहज नलिएको कतिपयको बुझाइ छ ।
प्रधानमन्त्री ओलीले १७–२० मंसिरसम्म चीनको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा २ देशबीच बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको थियो । चीनबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री राणा लामो समयका लागि युरोप भ्रमणमा निस्किएकी थिइन् ।
चीनबाट फर्केपछि २० मंसिरमा झापाका ओलीले छिट्टै भारत भ्रमण गर्ने बताएका थिए ।
दिल्लीमा परराष्ट्रमन्त्रीको राजनीतिक भेटवार्ता हुन नसकेपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण बारे संशय बढेको छ । राणाको एक साता दिल्ली बसाइमा समेत राजनीतिक तहमा उच्चस्तरीय भेटवार्ता नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी मध्यतिर गराउने तयारी छ । तर, भारतले निम्तो भने गरेको छैन । ‘भारतले अहिलेसम्म निम्तो दिएको छैन । समय मिलेको खण्डमा नेपालले जनवरीको दोस्रो साता प्रस्ताव गर्ने भनेको हो’, ती अधिकारीले भने ।
यसैबीच सत्तारूढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पनि नयाँ दिल्लीमा छन् । उनी केका लागि गएका हुन् भन्ने सार्वजनिक भने भएको छैन । यद्यपि, ज्ञवालीको भ्रमण पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउने प्रयासका लागि भएको कूटनीतिज्ञहरू बताउँछन् ।
चीन भ्रमणमा पुगेर बीआरआई परियोजना कार्यान्वयन सहमतिपत्रमा हस्ताक्षर भएपछि भारत झस्किएको छ । सहमतिमा हस्ताक्षर गराउन मन्त्री राणा पनि पनि सक्रिय थिइन् । सम्झौताका लागि उनको सक्रियताबाट भारत असन्तुष्ट भएको जानकारहरू बताउँछन् ।