२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सात वर्षसम्म पुल निर्माण अधुरै

Nada
२०८१ मंसिर २५ गते ११:०९
Shares
सात वर्षसम्म पुल निर्माण अधुरै

कैलाली : कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिनसकेको छैन ।

ncell

निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । रु १४ करोड २६ लाख लागतमा तीन वर्षभित्र काम सक्नेगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र पप्पु एड्भेन्चरबीच २०७४ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीले सात वर्षसम्म पुल निर्माणका लागि जग खन्ने काममात्र गरेको धनगढी उपमहानगरपालिका–१७ का वडाध्यक्ष माधवराज रानाले बताए । 
 
खुटिया र शिवगंङ्गा नदीमा पुल निर्माण गर्न एकैपटक शिलान्यास भएको थियो । उनले भने, “खुटिया नदीमा पुल निर्माण भएको चार वर्ष भयो तर शिवगङ्गामा काम भएको छैन ।”

सडक डिभिजन कार्यालयका अनुसार निर्माण कम्पनीले ३० प्रतिशत काम सकिएको भनेर कुल लागतको २२ प्रतिशत अर्थात् रु तीन करोड १३ लाख ७२ हजार भुक्तानी लिएको छ । ठेक्का सम्झौताअनुसार सो पुलको निर्माण कार्य २०७७ असारसम्म सम्पन्न हुनुपर्ने हो । सडक डिभिजन कार्यालयले पटक–पटक गरी २०८२ भदौसम्म म्याद थपेको जनाएको छ ।

निर्माण कम्पनीले साढे दुई वर्ष थप्न माग गरेपछि पुल निर्माणका लागि समय थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले बताउनुभयो । निर्माण कम्पनीले चालु आवभित्र पुल निर्माण सम्पन्न गर्ने जनाएको उनको भनाइ छ ।

शिवगङ्गा नदीमा पुल निर्माण सम्पन्न नहुँदा वर्षात्का बेला डल्लबमा एक पटकको रु एक सय शुल्क तिरेर नदी तर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष रानाले जानकारी दिए । पुल निर्माण सम्पन्न नहुँदा हिउँदको समयमा उपमहानगरपालिकाले ह्युम पाइपमार्फत सवारीसाधन सञ्चालन गर्न सडक निर्माण गर्दै आएको छ । वर्षात्को समयमा शिवगङ्गामा बाढी आउने भएकाले मोटरसाइकल र साइकल डल्लबमै राखेर नदी वारपार गर्ने गरिन्छ । 

सम्बन्धित खबर