२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

११ वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी-भाइ

Nada
२०८१ मंसिर २३ गते ११:२८
Shares
११ वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी-भाइ

काभ्रेपलाञ्चोक : दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दंग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका-३ सानो पोखराका उनले ११ वर्षपछि आँखा देख्न पाएको बताए ।

ncell

नजिकको मात्रै अलिअलि देख्ने उनको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । उनले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात् छ्यांगै आँखा देखेपछि खुसीले उनी दंग भएका छन् । 

“जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु”, उनले भन, “आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुसी छु ।”

प्रकाश मात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँकै कक्षा ६ मा अध्ययनरत उनले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताइन् । दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरूको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको उनले शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको बताइन् । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो । 

“देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएनौँ”, सुस्मिताले भनिन् “गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएको छु ।”

दुई जना मात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घर आँगनमा नै उपचार सेवा पाएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा नेपाल आँखा कार्यक्रम ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुरको प्राविधिक सहयोग आर्थिक सहयोगमा पालिकाका विभिन्न वडामा सञ्चालन गरेको शिविरबाट एक सय जनाको आँखाको शल्यक्रिया गरेको छ ।

तिलगंगा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा. सुदीप राज भण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताए । सो क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चस्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो । 

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा नै बसेर विशेषज्ञ डाक्टरबाट सेवा लिन निकै कठिन र खर्चिलो भएको, कतिपय रोग लुकाएर बस्ने भएको तथा जटिल प्रकारका रोग भएको अवस्थामा पनि प्रस्ट भन्न नसक्ने अवस्थाका नागरिकहरू भएका कारण वार्षिक रूपमा गाउँका बस्ती-बस्तीमा नै गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताए ।

त्यसरी विभिन्न समस्यामा रहेको नागरिकलाई सेवा दिने क्रममा यसपटक मङ्सिर १७ देखि २१ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिएको उनले बताए । -रासस 

सम्बन्धित खबर