२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

प्रधानमन्त्री ओली बेइजिङमा

Nada
२०८१ मंसिर १७ गते १८:०६
Shares
प्रधानमन्त्री ओली बेइजिङमा

चीनः प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा आज बेइजिङ पुगेका छन् । उनलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरे ।

ncell

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज बेइजिङ पुगेका हुन्। प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य छिन् । त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्कने तालिका छ ।

सम्बन्धित खबर