२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

मलेसियाले चैतदेखि नयाँ एप्रुभल खुला गर्ने

Nada
२०८१ मंसिर ६ गते ०६:३०
Shares
मलेसियाले चैतदेखि नयाँ एप्रुभल खुला गर्ने

काठमाडौं : मलेसियाले आगामी चैतदेखि नयाँ विदेशी कामदार भर्ना गर्नका लागि आवेदन खुला गर्ने संकेत गरेको छ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुशन इस्माइलले विदेशी कामदार भर्नामा लगाएको रोक आगामी वर्षको पहिलो चौमासिकपछि समीक्षा गर्ने बताए ।

ncell

मलेसियामा १ जनवरीदेखि आर्थिक वर्ष प्रारम्भ भई ३१ डिसेम्बरमा अन्त्य हुने गरेको छ । गृहमन्त्री सैफुद्दिनले अर्थ मन्त्रालयले तोकेको २५ लाख ८० हजार जना विदेशी कामदारको सीमाभन्दा अहिले मलेसियामा विदेशी कामदारको संख्या ४५ हजार कम रहेको बताए । मलेसियाले सन् २०२३ को मार्च ३१ तारेखदेखि विदेशी कामदारको एप्रुभल रोकेको हो  ।

९ महिनासम्म नयाँ एप्रुभल नखुल्दा सरकारमाथि विदेशी कामदार भर्नाको प्रक्रिया सुरुवात गर्न विभिन्न क्षेत्रबाट दबाब बढिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा बुधबार आप्रवासी कामदार व्यवस्थापनसम्बन्धी गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयबीचको संयुक्त समितिको बैठकपछि गृहमन्त्री सैफुद्दिनले भने, ‘देशमा रहेका १७ दशमलव २ मिलियन श्रमशक्तिको १५ प्रतिशतमा अधिकतम सीमा तोकिएकाले अर्को वर्षको पहिलो त्रैमासिकमा बस्ने संयुक्त समितिको बैठकले नयाँ निर्णय गर्नेगरी त्यतिन्जेलसम्म फ्रिज अर्थात् प्रतिवन्ध कायम गर्ने निर्णय गरेका छौँ ।’

छुट्टै प्रसंगमा गृहमन्त्री सैफुद्दिनले गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयले विदेशी कामदारमाथिको निर्भरता घटाउन र कारागारहरूमा हुने भीडभाडलाई सम्बोधन गर्न हत्या वा बलात्कार जस्ता अपराधमा सजाय पाएकाबाहेक कैदीलाई काममा लगाउने अनुमति दिन सैद्धान्तिक रूपमा सहमति जनाएको बताएका थिए । तर, त्यसमा हाल कुनै निर्णय नभएको र भविष्यमा पनि त्यस विषयमा थप छलफल नहुने बताए । कैदीलाई काममा नलगाउने सहमति भएपछि मलेसियामा विदेशी कामदार खुला गर्नुको विकल्प नभएको बताइएको छ ।

केही दिनअघि मलेसियाको मानव संसाधन मन्त्रालयले मलेसियामा विदेशी कामदार भर्नाको प्रसंगमा लागत पुनर्संरचनाका लागि स्रोत मुलुकहरूसँग छलफल गरिरहेको बताएको थियो । मलेसियाले सन् २००१ देखि नै नेपाललाई श्रमिक आपूर्तिको स्रोत मुलुकका रूपमा सूचीकरण गरेको हो । नेपाल, भारत, इन्डोनेसिया, कम्बोडिया, भियतनाम, बंगलादेश, श्रीलंकालगायतका १५ मुलुकलाई मलेसियाले स्रोत मुलुकमा राखी कामदार लैजाने गरेको छ ।

उत्पादन, सुरक्षा गार्ड, सेवामूलक क्षेत्र, कृषि क्षेत्र, निर्माण र बागवानी क्षेत्रमा ३ लाखभन्दा बढी नेपाली काम गरिरहेका छन्  । नेपालसँग मिल्दोजुल्दो हावापानी र राम्रो तलबका कारण मलेसिया नेपाली कामदारको आकर्षक गन्तव्यका रूपमा रहेको छ ।

मलेसियाले आगामी फेब्रुअरीदेखि न्यूनतम मासिक तलब १७ सय रिंगेट लागू हुने घोषणा गरेको छ । त्यसले पनि मलेसियाको रोजगारीबारे नेपाली कामदार तथा उनीहरूलाई पठाउने म्यानपावर कम्पनीबीच तीव्र चासो छ ।  मलेसियाबाट नयाँ रोजगारीको डिमान्ड नआउँदा वार्षिक २ लाख नेपालीले रोजगारी गुमाएका छन् । लामो समय मलेसिया बन्द रहे नेपालका धेरै म्यानपावर कम्पनीहरूले इजाजत नवीकरणका लागि अनिवार्य गरिएको बार्षिक सय जना कामदारसमेत पठाउन नसक्ने अवस्था छ ।

नेपालमा दर्ता रहेका मध्ये आधाभन्दा बढी म्यानपावर कम्पनीले मलेसिया कामदार पठाउने गरेका छन् । केही म्यानपावर कम्पनीले पूर्ण रूपमा मलेसिया मात्र पठाउँदै आएका छन्  ।

ताजा खबर

सम्बन्धित खबर