
काठमाडौं : काठमाडौंको रातोपुलमा चटपटे र पानीपुरीको व्यापार गर्दै आएका सर्लाहीका रोशन ठाकुर यस वर्ष छठ काठमाडौंमै मनाउने तयारीमा छन् । कमलपोखरीमा घाट बनाएर सामूहिक रूपमा छठ मनाउने उनको योजना छ । ‘छठ पर्व सामुदायिक रूपमा मनाउने पर्व हो । पहिले यहाँ चिनजानका मानिस थिएनन् । पोखरीको छेउमा पूजा गर्दा गाली गर्छन् कि भन्ने डर लाग्थ्यो,’ उनी भन्छन्, ‘अहिले अनुमति लिएरै पर्व मनाउने तयारीमा छौं ।’
रोशनको अनुभव काठमाडौंमा छठ पर्वले तय गरेको सामाजिक यात्राको एउटा उदाहरण हो । कुनै समय आफ्नो समुदायका मानिससमेत पर्याप्त नभएकाले सार्वजनिक रूपमा छठ मनाउन अप्ठ्यारो मान्नेहरू अहिले स्थानीय तहको सहयोग र सामुदायिक सहभागितामा घाट निर्माण गरेर पर्व मनाउन थालेका छन् ।
विगत ११ वर्षदेखि काठमाडौंको ज्ञानेश्वरमा चिया पसल सञ्चालन गर्दै आएकी सिरहाकी रजनी यादव पनि छठ मनाउनकै लागि गाउँ जाने गर्थिन् । तर, पछिल्ला तीन वर्षदेखि काठमाडौंमै छठ मनाउँदै आएकी छन् । ‘छठ पर्व मनाउनेकै कारण काठमाडौंका तालतलैया भरिन थालेका छन्,’ उनी भन्छिन्, ‘परिवार नै काठमाडौंमा बस्ने भएपछि पर्व मनाउनकै लागि गाउँ जान छाडिसक्यौं ।’
मधेशी समुदायकी भएकै कारण विगतमा काठमाडौंमा छठ मनाउन सहज नभएको उनी सम्झिन्छिन् । अहिले भने स्थानीय तहले घाट व्यवस्थापनमा समेत सहयोग गर्न थालेको उनको भनाइ छ । काठमाडौंमा छठ मनाउनेहरूको संख्या हरेक वर्ष बढिरहेको उनले अनुभव गरेकी छन् ।
यस वर्ष काठमाडौं उपत्यकाका १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपण्डोल, बल्खु, विष्णुमती र नख्खु नदी किनारलगायत स्थानमा पर्व मनाउने तयारी गरिएको छ । गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट व्यवस्थापन भइरहेको छ ।
राजधानीका नदी, पोखरी र जलाशयका किनारमा बढ्दो चहलपहलले छठको बदलिँदो स्वरूप देखाउँछ । मधेशी समुदायको बाक्लो बसोबास भएका क्षेत्रमा मात्र सीमित नरही अन्य समुदायका मानिससमेत पूजा, घाट व्यवस्थापन र सांस्कृतिक गतिविधिमा सहभागी हुन थालेका छन् ।
बसाइँसराइसँगै फैलिएको संस्कृति
वरिष्ठ पत्रकार धर्मेन्द्र झाका अनुसार, विगतमा काठमाडौं उपत्यकाको कीर्तिपुर, बल्खु, कालिमाटी र कुलेश्वर क्षेत्रमा सामान्य रूपमा छठ पर्व मनाउने गरिन्थ्यो । पछिल्ला वर्षमा भने यो पर्व उपत्यकाका विभिन्न स्थानमा विस्तार भएको छ । ‘छठ विस्तारै राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियकरणतर्फ पनि उन्मुख छ । अहिले विश्वमा जहाँकहीँ मैथिली र भोजपुरीभाषी छन्, त्यहाँ यो महापर्व मनाउने गरिएको छ,’ झा भन्छन्, ‘मूलतः सूर्योपासनासँग सम्बन्धित यो पर्व प्रकृतिपूजनसँग पनि जोडिएको छ ।’
उनका अनुसार, रोजगारी, पेसा र अन्य अवसरका सिलसिलामा देशका विभिन्न ठाउँमा पुगेका मैथिली तथा भोजपुरीभाषी समुदायले आफ्नो सुविधाअनुसार नयाँ ठाउँमै छठ मनाउन थाले । उनीहरूको बसाइँसराइसँगै पर्व पनि नयाँ भूगोलमा पुग्यो । यसरी सुरु भएको सामूहिक पूजामा स्थानीय समुदायको सहभागिता थपिँदै जाँदा छठले राष्ट्रिय पहिचान बनाउँदै गएको छ ।
पूर्वी पहाडको पाँचथर र ताप्लेजुङदेखि पश्चिमको कर्णाली तथा सुदूरपश्चिमका विभिन्न स्थानमा समेत छठ मनाउन थालिएको झा बताउँछन् । झापा, इलाम, कपिलवस्तु र लुम्बिनीलगायत क्षेत्रमा पहाडी समुदायका मानिससमेत छठको व्रत र पूजामा सहभागी हुन थालेका छन् । कतिपय ठाउँमा मधेशी समुदायले सुरु गरेको पूजामा अन्य समुदायका व्रतालुको समेत उल्लेख्य सहभागिता देखिन थालेको छ ।
वीरगन्ज निवासी वरिष्ठ पत्रकार चन्द्रकिशोर छठको यो विस्तारलाई धार्मिक आस्थासँगै बसाइँसराइ, सहरीकरण र सामाजिक अन्तरघुलनको परिणाम मान्छन् । उनका अनुसार, रोजगारी, शिक्षा र अवसरको खोजीमा मधेशबाट पहाड तथा उपत्यकामा पुगेका परिवारले आफ्नो मौलिक परम्परालाई नयाँ ठाउँमा निरन्तरता दिएका छन् । उनीहरूसँगै छठ पर्व पनि फैलिएको हो । ‘यो राम्रो पक्ष हो । यो पर्व मनाउन कुनै वर्ग, धर्म वा जात चाहिँदैन । न त कुनै पण्डित वा ब्राह्मण नै चाहिन्छ,’ चन्द्रकिशोर भन्छन्, ‘छठ पर्व मनाउन कसैलाई छेकबार छैन ।’
उनका अनुसार, छठमा जात, धर्म, वर्ग र समुदायको सीमाभन्दा माथि उठेर मानिसहरू एकै ठाउँमा भेला हुन्छन् । यही खुलापनले यसलाई सामाजिक एकता र सद्भावको पर्वका रूपमा स्थापित गर्न सहयोग गरेको छ । एउटा समुदायले आफ्नो मौलिक परम्पराका रूपमा जोगाएको पर्वमा अर्को समुदायको सहभागिता बढ्नु सांस्कृतिक अन्तरघुलनको सकारात्मक उदाहरण हो ।
अस्ताउँदो सूर्यलाई पनि सम्मान
छठ पर्वको विशेषता सूर्यको पूजा मात्र होइन, अस्ताउँदो सूर्यलाई समेत अघ्र्य दिएर सम्मान गर्नु हो । सूर्यको उपासना विश्वका विभिन्न देश र संस्कृतिमा हुने गरे पनि अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गर्ने परम्परा छठमा विशेष रूपमा देखिन्छ ।
वरिष्ठ पत्रकार धर्मेन्द्र झाका अनुसार, यसले उदाउँदो शक्तिको मात्र होइन, विगतमा योगदान पुर्याएको र अहिले अस्ताउँदै गरेको शक्तिको समेत सम्मान गर्नुपर्ने सन्देश दिन्छ । ‘सूर्यको उपासना त विश्वका धेरै देश र संस्कृतिमा हुन्छ । तर अस्ताउँदो सूर्यको उपासना हुने सांस्कृतिक पर्व सम्भवतः छठ मात्र हो,’ उनी भन्छन् ।
छठमा सूर्यदेवको पूजा गरिए पनि छठी माताको सम्बोधन किन गरिन्छ भन्ने प्रश्न पनि सांस्कृतिक र धार्मिक दृष्टिले रोचक छ । झाका अनुसार, छठीलाई प्रकृतिको प्रतीकका रूपमा स्वीकार गरिएको छ । यो पर्व षष्ठी तिथिमा मनाइने भएकाले षष्ठी शब्द अपभ्रंश हुँदै छठी बनेको हुन सक्ने उनको विश्लेषण छ ।
‘षष्ठी, छठी र प्रकृति एकअर्काका पर्याय बन्न गएको र यी तीनै शब्द स्त्रीलिंगी रूपमा स्वीकार गरिँदा जनमानसमा देवीको स्वरूप निर्माण भएको हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन,’ उनी भन्छन् । अर्को मान्यताअनुसार छठीलाई भगवान् ब्रह्माकी मानसपुत्री पनि मान्ने गरिएको छ ।
घाटदेखि बजारसम्म चहलपहल
छठको विस्तार धार्मिक र सांस्कृतिक गतिविधिमा मात्र सीमित छैन । यसले स्थानीय बजारमा समेत आर्थिक चहलपहल बढाएको छ । पर्वका लागि आवश्यक पर्ने केरा, नरिवल, उखु, स्याउ, सुन्तला, अदुवा, बेसार, माटाका भाँडा तथा बाँसबाट बनेका ढाकी, नाङ्लो र सुपको माग बढ्ने गर्छ ।
विशेषगरी बाँसका सामग्री बनाउने परम्परागत सीप भएका समुदायका लागि छठ आम्दानीको अवसर बन्ने गरेको छ । काठमाडौंलगायत ठुला सहरका बजारमा छठ लक्षित किनमेल बढ्न थालेको छ । यसले धार्मिक पर्वले कृषि उत्पादन, स्थानीय व्यापार र परम्परागत हस्तकलालाई समेत बजारसँग जोड्ने गरेको देखाउँछ ।
छठको बढ्दो विस्तारले सार्वजनिक जलाशयको महत्त्व पनि बढाएको छ । नदी, पोखरी र तलाउका किनारमा पूजा गरिने भएकाले जलस्रोतको स्वच्छता र संरक्षण यस पर्वसँग प्रत्यक्ष जोडिन्छ । तर, सहभागीको संख्या बढेसँगै घाट व्यवस्थापन, फोहोर संकलन र जलाशयको सरसफाइ चुनौतीका रूपमा देखिन सक्छन् । धार्मिक आस्थाका नाममा नदी तथा पोखरी प्रदूषित हुन नदिन आयोजक समिति, स्थानीय तह र श्रद्धालु सबैको जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण छ ।
जीवनचक्र र प्रकृतिको पूजा
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । व्रतालुहरूले विभिन्न नियम पालना गर्दै नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् । सूर्य, जल र पृथ्वीलाई जीवनको आधार मानेर गरिने यो पूजाले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई स्मरण गराउँछ ।
अध्येता एवं विश्लेषक सिके लालका अनुसार, छठले जीवनको चक्रलाई स्वीकार गर्न सिकाउँछ । ‘जुन कुराको सुरु हुन्छ, त्यसको अन्त्य हुन्छ र फेरि सुरु हुन्छ । यसलाई सूर्यको प्रतीकका रूपमा लिइएको छ र सूर्यकै विशेष पूजा हुन्छ,’ उनी भन्छन् । उनका अनुसार, मानव जीवनको निरन्तरता र प्रकृतिको चक्रलाई स्वीकार गर्ने भाव पनि छठमा जोडिएको छ ।
छठ पर्व चार दिनसम्म विभिन्न विधि र अनुशासनका साथ मनाइन्छ । पहिलो दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु हुन्छ । यस दिन व्रतालुले नदी वा जलाशयमा स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गर्छन् । दोस्रो दिन ‘खरना’ विधि गरिन्छ । दिनभर उपवास बसेर साँझ दूध, सखर र चामलबाट तयार पारिएको खिर तथा रोटी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । तेस्रो दिन अर्थात् षष्ठीका दिन व्रतालुहरू अस्ताउँदो सूर्यलाई अघ्र्य दिन जलाशयमा पुग्छन् । बाँसको सुप, नाङ्लो तथा ढाकीमा नरिवल, केरा, उखु, ठकुवा, भुसुवा र विभिन्न फलफूल राखेर सूर्यलाई अर्पण गरिन्छ । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समापन हुन्छ ।
यस वर्ष शुक्रबार नहाय–खायबाट सुरु भएको छठ शनिबार खरना, आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुनेछ । ‘छठ पर्व धार्मिक आस्थासँगै प्रकृतिप्रतिको सम्मान र संरक्षणको सन्देश बोकेको पर्व पनि हो,’ सिके लाल भन्छन्, ‘सूर्य, जल र पृथ्वीलाई जीवनको आधार मानेर गरिने यस पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई दर्साउँछ ।’
मधेशको मौलिक पहिचान बोकेर सुरु भएको छठ आज देशका विभिन्न भूगोल र समुदायलाई जोड्ने सांस्कृतिक उत्सव बन्दै गएको छ । बसाइँसराइले यसलाई नयाँ ठाउँमा पु¥यायो, स्थानीय सहभागिताले साझा बनायो र यसको खुला प्रकृतिले समुदायबीचको दूरी घटाउन मद्दत ग¥यो । छठको विस्तारले नेपाली समाजको विविधताभित्र रहेको एकताको सम्भावना उजागर गरेको छ । संस्कृति कुनै निश्चित भूगोल वा समुदायको सीमाभित्र मात्र रहँदैन, आपसी सम्मान र सहभागिताले त्यसलाई राष्ट्रिय पहिचान बनाउन सक्छ भन्ने सन्देश छठले दिएको छ ।