२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

सरकार अन्य दलभित्र हस्तक्षेप गरेर पुरानै राजनीतिक सिन्डिकेट बनाउन थाल्यो : महामन्त्री पौडेल

Nada
२०८३ कार्तिक २७ गते ११:४५
Shares
सरकार अन्य दलभित्र हस्तक्षेप गरेर पुरानै राजनीतिक सिन्डिकेट बनाउन थाल्यो : महामन्त्री पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले कांग्रेसभित्रै नेतृत्व चयन र गुटगत राजनीतिमा हस्तक्षेप गर्न खोजेको बताएका हुन् ।

उनले सरकारले लोकतान्त्रिक शासनका सामान्य मर्यादा र विधिको शासनसमेत पालना नगरेको आरोप लगाए । निर्वाचनपछि बलियो जनमतसहित बनेको सरकारले नागरिकको विश्वासको सम्मान गर्नुको सट्टा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्न खोजेको उनको भनाइ छ ।

पौडेलले कुनैपनि व्यक्ति वा सरकार कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विधि, कानून र नियमको शासन स्थापित गर्नकै लागि गणतन्त्र ल्याइएको बताए । सरकार आफूलाई कानुनभन्दा माथि ठान्ने प्रवृत्तिमा देखिनु स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

उनले दुईतिहाइ समर्थन प्राप्त सरकारले पनि पुराना राजनीतिक दलका नेताहरूले जस्तै व्यवहार देखाएको टिप्पणी गरे । आफ्नै पार्टी सञ्चालनमा केन्द्रित हुनुपर्ने नेतृत्व अन्य दलको सभापति कसलाई बनाउने, कसलाई बलियो बनाउने र कसको पार्टी कमजोर बनाउने भन्ने खेलमा लागेको उनको आरोप छ ।

महामन्त्री पौडेलले विगतमा केही राजनीतिक दलका नेताहरू मिलेर गठबन्धनको सिन्डिकेटमार्फत शासन सञ्चालन गर्न खोजेको र त्यसलाई नेपाली कांग्रेसले तोडेको दाबी गरे । तर अहिले फेरि त्यस्तै राजनीतिक अभ्यास दोहोर्‍याउन खोजिएको उनको भनाइ छ ।

उनले रास्वपा नेतृत्वको सरकारलाई आफ्नै जनमतअनुसार जनताको पक्षमा काम गर्न आग्रह गर्दै अन्य दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नुको औचित्य नरहेको बताए ।

laxmi recruitement

सम्बन्धित खबर