२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सामाजिक सन्देश बोकेको फिल्म ‘हली’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै

Nada
२०८३ साउन १८ गते १२:०७
Shares
सामाजिक सन्देश बोकेको फिल्म ‘हली’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै

काठमाडौं : सामाजिक विषयवस्तुमा आधारित नेपाली फिल्म ‘हली’ आगामी साउन २२ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै छ । जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मले शिक्षा, लैंगिक समानता र समाजमा विद्यमान कुसंस्कारविरुद्धको सशक्त सन्देश प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

ncell

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतिक स्वयंको मुख्य भूमिका रहेको छ ।

फिल्ममा नेपालका चर्चित कलाकार दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य प्रस्तुत गरिएको छ, जसले फिल्मलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

सामाजिक कथावस्तुमा आधारित ‘हली’ले महिनावारीका बेला किशोरीहरूलाई विद्यालय जान नहुने भन्ने गलत मान्यता र छाउपडी प्रथासँग जोडिएका कुसंस्कारलाई मुख्य विषय बनाएको छ । विशेषगरी छाउपडी प्रथाअन्तर्गत २१ दिनसम्म बुबा तथा पुरुष सदस्यको अनुहार हेर्न नहुने जस्ता अन्धविश्वासलाई फिल्मले उजागर गर्दै त्यसविरुद्ध सचेतना फैलाउने प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।

फिल्मले एउटा ‘हली’ अर्थात् मेहनती र इमानदार व्यक्तिले समाज र देशको मुहारसमेत बदल्न सक्छ भन्ने सकारात्मक सन्देश बोकेको निर्देशक ओम प्रतिकले बताएका छन् ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल हुन् भने सह–निर्मात्री नम्रता भण्डारी रहेकी छन् । पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माणमा सहकार्य गरेका छन् ।

राहुल राईको छायांकन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन् । शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

फिल्मको वितरण नेसनल सिने ग्रुप प्रा.लि.ले गर्नेछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । सामाजिक चेतना र मनोरञ्जनलाई एकसाथ प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘हली’ले दर्शकमाझ सकारात्मक प्रभाव छोड्ने निर्माण टिमको विश्वास छ ।

सम्बन्धित खबर