२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

ओलीद्वारा राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि आह्वान

Nada
२०८३ साउन १४ गते १७:४०
Shares
ओलीद्वारा राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि आह्वान

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित, शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई एकजुट हुन आह्वान गरेका छन् । बिहीबार एक वक्तव्य जारी गर्दै उनले मुलुकको अस्तित्व र शान्ति सुरक्षामाथि संकट आउन लागेको भन्दै वर्तमान जटिलताबाट निकास पाउन जिम्मेवार सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका र सिरहामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थिति र राज्य पक्षबाट भएको बल प्रयोगप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सो क्रममा गोली लागेर स्थानीय युवाहरू ओमप्रकाश मेहता र गणेश यादवको भएको दुःखद निधनप्रति उनले श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । हिंसात्मक कदमहरू तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न उनले आग्रह गरेका छन् ।

ओलीले राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दासमेत सरकारले देखाएको उदासीनता र मौनतालाई 'शंकास्पद एवं भर्त्सनायोग्य' भनेका छन् । नागरिकको जीउधनको रक्षा गर्नु सरकारको प्राथमिक दायित्व भए पनि अत्यधिक बल प्रयोग गरिएको भन्दै उनले सरकारको गैरजिम्मेवार भूमिकाको आलोचना गरेका छन् ।

जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू भइरहेको हुन सक्नेतर्फ सचेत गराउँदै ओलीले कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेका छन् । उनले नेता-कार्यकर्ता, सञ्चारकर्मी र आम नागरिकहरूलाई सामाजिक सद्भाव र एकता कायम राख्न सक्रिय हुन हार्दिक अनुरोध गरेका छन् ।

मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै ओलीले मुख्य राजनीतिक दलहरूलाई आपसी प्रतिस्पर्धा र आरोप-प्रत्यारोपभन्दा माथि उठ्न सुझाव दिएका छन् । शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न दलहरूबीच राजनीतिक सहकार्य हुनुपर्नेमा उनले जोड दिएका छन् । द्वन्द्व र हिंसाले समस्याको समाधान नगर्ने भन्दै उनले संवाद र सहमतिबाटै निकास निस्कने विश्वास व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर