२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

स्थापना दिवसको अवसरमा ‘आदर्श सन्देश स्मारिका अंक २’ विमोचन

shivam cement
तिलु शर्मा पौडेल
२०८१ साउन १४ गते १९:५८
स्थापना दिवसको अवसरमा ‘आदर्श सन्देश स्मारिका अंक २’ विमोचन

कतार : कास्की आदर्श समाज कतारले आफ्नो २२औं स्थापना दिवसको अवसरमा ‘आदर्श सन्देश स्मारिका अंक २’ को विमोचन गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास  कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी र समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति अग्निधर देवकोटा लगायत समाजका पधाधिकारीहरुले संयुक्त रूपमा विमोचन गरेका हुन् । 

कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले पोखराका मनोरम दृश्यसहित प्रकृतिले दिएको हिमाल, ताल र पर्यटकीय स्थलसहितधेरै कुरालाई स्मारिकामा समेटिएको बताए । 

स्मारिकाको समीक्षा गर्दै कवि तथा साहित्यकार प्रेम प्रसाद भट्टराईले कतारमा समिति संस्थाले स्मारिका प्रकाशन गर्ने गरेको बताउँदै कास्कीले प्रकाशन गरेको स्मारिका उत्कृष्ट रहेको बताए ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले स्मारिका संस्थाको महत्वपूर्ण दस्तावेज भएको र समाजले गरेका कार्यसहित कतारका अमिरको नेपाल भ्रमण, लगायत धेरै महत्वपूर्ण विषयलाई समावेश गरेकोमा खुसी व्यक्त गरे । विश्वले चिनेको पोखरामा त्यहाँको पर्यटन र विकासमा राज्यले थप लगानी गर्नसके स्वदेशमै रोजगारीको सिर्जना गर्न सकिने सुवेदीको भनाइ थियो ।

समाजका सचिव विष्णु तिमल्सिनाले सहजीकरण गरेको कार्यक्रममा तमु गुरुङ समाज र तमु प्ये ल्हु संघ कतारमा आवद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए भने फेवा सांस्कृतिक परिवारले पोखरा सेरोफेरोमा गाइने मौलिक भाका टिपेर गीतमार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, समीक्षक, समाजका अग्रज व्यक्तित्वहरुलाइ दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो भने स्मारिकामा आफ्ना लेख, रचना तथा विज्ञापन प्रदान गरी सहयोग गर्ने विभिन्न संघसंस्था प्रमुख तथा विशिष्ट व्यक्तित्वहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष सुरज रानाले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभापति देवकोटाले सामाजिक एवम् परोपकारी गतिविधिहरू समेटेर लिपिबद्ध गरी नयाँ पिँढीका लागि इतिहासको सिर्जना गर्न स्मारिका सफल हुने विश्वास व्यक्त गरे । 

उनले आफ्नो कार्यकालमा ‘आदर्श सन्देश–२’ प्रकाशन गर्न पाउँदा खुसी मिलेको बताउँदै पुस्तक आफ्नो जीवनको अमूल्य कमाइ रहेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise