
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बिपिएल) २०२६ मा सहभागिता जनाउने भएका छन् । फ्रेन्चाइज क्रिकेटमा विश्वव्यापी अनुभव बटुलेका सन्दीपलाई बंगलादेशी क्लब राजशाही वारियर्सले डाइरेक्ट साइनिङमार्फत अनुबन्ध गरेको हो ।
क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सन्दीपलाई टोलीमा स्वागत गर्दै ‘हिमालयन म्याजिक’ लाई वारियर्स परिवारमा समावेश गरिएको उल्लेख गरेको छ । सन्दीपले यसअघि सन २०१८–१९ को सिजनमा सिलेट सिक्सर्सबाट बिपिएल खेलेका थिए ।
इन्डियन प्रिमियर लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), बिग ब्यास लिग (बिबिएल) तथा क्यानाडाको ग्लोबल टी–२० जस्ता ठुला प्रतियोगितामा खेलिसकेका सन्दीपले पछिल्लो केही समय अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा निरन्तरता पाउन सकिरहेका थिएनन् ।
डिसेम्बर २६ बाट सुरु हुने बिपिएल २०२६ मा राजशाही वारियर्सको कप्तानी नाजमुल हुसेन शान्टोले गर्नेछन् । वारियर्सको टोलीमा बंगलादेशका अनुभवी तथा उदीयमान खेलाडीहरूसँगै विभिन्न देशका विदेशी खेलाडीहरू पनि रहेका छन् । सन्दीपसँगै टोलीमा तान्जिद हसन तामिम, मोहम्मद नवाज, साहिबजादा फर्हान, तान्जिम हसन सकिब, यासिर अली, अकबर अली, रिपन मन्डल, जिसन आलम, हसन मुराद, अब्दुल गफर सकलेन, एसएम महरब, रोबियुल इस्लाम, वासी सिद्दिकी, मुशफिकुर रहिम, एमडी रुबेल, दुशान हेमन्थ, जहानदाद खान र जिमी निशम जस्ता खेलाडीहरू रहेका छन् ।
सन्दीपले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सबाट खेलेका अनुभवी अलराउन्डर जिमी निशमसँग वारियर्समा सहकार्य गर्नेछन् ।
हालै सम्पन्न नेपाल प्रिमियर लिगमा कप्तानी सम्हालेका सन्दीपको नेतृत्वमा विराटनगर किंग्स क्वालिफायरसम्म पुगेको थियो । यद्यपि, क्वालिफायरका दुबै खेलमा पराजय भोग्दा टोली प्लेअफबाटै बाहिरिएको थियो । व्यक्तिगत रूपमा भने सन्दीप एनपिएलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।
बिपिएलमा सन्दीपको सहभागितालाई नेपाली क्रिकेटका लागि पनि सकारात्मक संकेतका रूपमा हेरिएको छ । लामो समयपछि अर्को ठुलो फ्रेन्चाइज लिगमा स्थान बनाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न सके आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय लिगका ढोका पनि पुनः खुल्ने विश्वास गरिएको छ ।