२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बक्स अफिस इन्टरनेसनल ग्रुपद्वारा ‘नेपाल मिठाइ व्यवसाय कप २०८२’ सम्पन्न, तामाङ टोल ब्वाइज च्याम्पियन

Nada
२०८२ कार्तिक १८ गते १४:२०
Shares
बक्स अफिस इन्टरनेसनल ग्रुपद्वारा ‘नेपाल मिठाइ व्यवसाय कप २०८२’ सम्पन्न, तामाङ टोल ब्वाइज च्याम्पियन

काठमाडौं : बक्स अफिस इन्टरनेसनल ग्रुपले युवा पुस्ता र जनस्तरसम्म व्यवसायलाई फुटबलको माध्यमबाट जोड्ने उद्देश्यका साथ देशभर करिब ५३ वटा फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत राजधानीको इलाइट फुटसलमा ‘बक्स अफिस नेपाल मिठाइ व्यवसायिक प्रमोशन कप २०८२’ भव्य रूपमा सम्पन्न भएको छ ।

ncell

संस्थाका अध्यक्ष आर.के. सुवेदीका अनुसार तिहार र छठ पर्वको अवसरमा सर्वाधिक बिक्री हुने मिठाइ व्यवसायीहरूको सम्मान र प्रतिष्ठा प्रवर्धन गर्न यो प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उपाधि तामाङ टोल ब्वाइज (टिटिजी)ले हात पारेको छ । काठमाडौंकै भुसन एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै टिटिजीले उपाधि जितेको हो । निर्धारित समयमा खेल गोलरहित रहेपछि विजेता टुंगो पेनाल्टीबाट लगाइएको थियो ।

यससँगै भुसन एफसीले उपविजेताको उपाधि चुमेको छ भने कपनको शंकर एफसी फेयर–प्ले अवार्डबाट सम्मानित भएको छ । बेस्ट किपर र हाइस्कोर बेस्ट प्लेयर अवार्ड विजेता टोली टिटिजीका खेलाडीले जितेका छन् भने उत्कृष्ट डिफेन्स अवार्ड भुसन एफसीका खेलाडीले हात पारे ।

फुटबलप्रेमी धादिङको विजय एफसीलाई ‘फुटबल हर्ट अवार्ड’ र जि स्पोर्ट्सलाई ‘फुटबल लभर’ सम्मान प्रदान गरिएको थियो ।

पुरस्कार वितरणका लागि प्रमुख अतिथि वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा, विशिष्ट अतिथि वरिष्ठ समाजसेवी राजु ढकाल, निर्माता–निर्देशक रिमेश अधिकारी, कलाकार बद्री शाह, र इलाइट फुटसलका सञ्चालक श्याम श्रेष्ठ उपस्थित थिए ।

कार्यक्रमको सभापतित्व सरोज शर्माले र सञ्चालन वरिष्ठ पत्रकार टंक कार्कीले गरेका थिए ।

नेपालभरका करिब ६ हजार मिठाइ व्यवसायीको सम्मानमा खेलिएको मिठाइ कप २०८२ मा देशका प्रतिष्ठित मिठाइ ब्रान्डहरू- आँगन, सुइट केभ, लड्डु गोपाल, टिपटप, कृष्ण पाउरोटी, संगम स्वीट, नितिष स्वीट, पुजा स्वीट, विश्रान्ती, बर्फी, न्यु राजधानी स्वीट, रामेश्वर पशुपति मिठाइ भण्डार, बन्दना स्वीट, हारती, दया शंकर मिठाइ भण्डार, कुन्दन स्वीट लगायतलाई विशेष सम्मान गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर