२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

जेनजीको प्रस्तावबाट नेपालले पहिलो महिला प्रधानमन्त्री पाउने करिब पक्का

shivam cement
मध्यान्ह
२०८२ भदौ २७ गते ०८:५३
जेनजीको प्रस्तावबाट नेपालले पहिलो महिला प्रधानमन्त्री पाउने करिब पक्का

जेनजी विद्रोहपछिको अन्यौलको अन्त्य गर्दै अन्तरिम सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वपक्षिय छलफल जारी राखेका छन् । संविधानभित्रैबाट समाधान खोज्न कानुनविद्, दलहरु र नागरिक अगुवाहरुले सुझाब दिइरहेका बेला शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिक सरकार प्रमुख बनाउने सहमति जुटेको स्रोतहरुले दाबी गरेका छन् । राष्ट्रपति पौडेलले कांग्रेसका केही नेतालाई त्यसको जानकारीसमेत गराएका छन् । 

बिहीबार रातिको सहमति अनुसार भएमा मुलुकले पहिलो महिला प्रधानमन्त्री पाउने छ । कार्कीको नेतृत्वमा बन्ने नागरिक सरकारले ६ महिनाभित्र आमचुनाव गराएर निर्वाचित कार्यकारीलाई सत्ता सुम्पने छ । त्यसका लागि संसद् विघटन गर्ने कि नगर्ने भन्नेमा अन्यौल छ । 
पूर्वप्रधान न्यायाधीश कार्कीले जेनजीको प्रस्ताव अनुसार संक्रमणकालीन सरकारको नेतृत्व लिन तयार रहेको बताइसकेकी छिन् । बिहीबार मात्र उनले दुई पटक राष्ट्रपति पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेकी छिन् । 

पञ्चायतकालमा नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय कार्की को संस्थापक नेता वीपि कोइरालासँग बनारसमा उठबस थियो । तर, कोइरालाले सुराकी गरेको आशंकामा आफ्नो निवासको ढोका बन्द गरेपछि उनी पढाई सकेर नेपाल फर्किएपछि कानुन व्यवसाय सुरु गरेकी थिइन् । उनी हक्की स्वभावकी सफल कानुन व्यवसायी हुन् । पछि उनी सर्बोच्चको न्यायाधीश बनिन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ मा कार्कीलाई प्रधानन्यायाधीश बनाएका थिए । तर, कांग्रेस र माओवादी केन्द्रले महाभियोग अभियोग लगाएर हटाउन खोजेका थिए । 

हक्की स्वभावकी कार्की भ्रष्टाचारको मुद्दामा शून्य सहनशिलता राख्छिन् भन्ने निकटहरु बताउँछन् । तर, पूर्वमन्त्री जेपी गुप्तालगायका मुद्दामा उनले नेविसंघकालीन विवादको पूर्वाग्रह राखेर फैसला गरेको आरोप पनि छ । गुप्ता सञ्चारमन्त्री हुँदै कार्कीसहितको इजलासले अकुत सम्पति आर्जन मुद्दामा जेल सजायँको फैसला सुनाएको थियो । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति र दलहरुसँग परामर्श गरेर संसद् बैठक बोलाउने तयारी गरिरहेका छन् । आन्दोलनकारी जेनजी नेताहरु, काठमाडौंका मेयर बालेन शाह, राप्रपा र रास्वपाका नेताहरुले संसद् विघटनलाई मुख्य सर्त बनाए पनि तत्काल संसद्लाई छलफलको थलो बनाउने कोशिस भइरहेको छ । आन्दोलनकारी शक्ति विभाजित र नेतृत्वविहिन रहेकाले अहिल्यै यसो हुन्छ भन्ने सक्ने स्थिति भने देखिँदैन । 
 

ADV

सम्बन्धित खबर

Advertise