काठमाडौँ : मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन् ।
जेनजीको आन्दोलनपछिको परिस्थितिमा चारवटै दल आन्तरिक छलफलमा छन् । आन्तरिक छलफलको निष्कर्षका आधारमा युवा नेताहरू संयुक्त छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी र रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनाल भर्चुअल संवादमा छन् ।
चारवटै पार्टीको आन्तरिक छलफलपछि संयुक्त भर्चुअल संवादमा जुटेका उनीहरूले तीन बुँदे निष्कर्षसमेत निकालेका छन् । दलहरूले आत्मसमीक्षा गर्नुपर्ने, जेनजीका माग सम्बोधन हुनुपर्ने र पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्ने उनीहरूको निष्कर्ष छ ।
छलफलमा सहभागी एक नेताका अनुसार यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत भएको छ ।
राजनीतिक दलहरूको व्यवहार सही नभएको, नेतृत्वले जनतालाई सेवा प्रवाहमा परेको अप्ठ्यारो महसुस गर्न नसकेको जेनजीको बुझाइमा समर्थन जनाउँदै यी विषयमा आत्मसमीक्षा गर्नुपर्नेमा उनीहरू एकमत रहेका छन् ।
यसका साथै जेन जेडले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेका छन् । यी माग सम्बोधन गर्नुपर्ने र यसका लागि आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत रहेका छन् । कुनै शक्तिले नेपाललाई पश्चगमनमा फर्काउन खोजे प्रतिवाद गर्नुपर्ने पनि उनीहरूको साझा निष्कर्ष छ ।
नयाँ परिस्थितिमा नयाँ सरकार गठनको विषयमा भने मुख्य दलहरू एकै धारणामा पुगेका छैनन् ।