काठमाडौं : नेकपा एमालेका नेताहरूले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा अन्तिम दिन आइतबार समूहगत छलफलको निष्कर्ष सुनाउँदै उनीहरूले सो कुरामा जोड दिएका हुन् ।
बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डललगायतका अधिकांश नेताहरूले आफ्नो समूहको छलफलको निष्कर्ष सुनाउँदै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र संवैधानिक अंगका प्रमुख भइसकेकाहरूलाई राजनीतिमा आउन नदिनका लागि पार्टी नेतृत्वलाई सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
त्यसैगरी उनीहरूले किसानलाई अनुदान बढाउन, सहिद परिवारलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनमा जोड दिन, पार्टीमा मूल्यांकन गर्ने वैज्ञानिक परिपाटीको विकास गर्नुपर्ने धारणा पनि राखेको उनले बताए ।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमाथि छलफल गर्न बनाएको १० वटा समूहका नेताहरूले आफ्नो सुझाव प्रस्तुत गरिसकेका छन् । अध्यक्ष ओलीले सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिएपछि महाधिवेशन समापन हुने पनि प्रचार विभाग प्रमुख गौतमले बताए ।