काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने उनको भनाइ छ । उनले माओवादीले सरकारमा रहेर राम्रा बाहेकका काम नगरेको जिकिर गरे ।
उनले नेपाली कांग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाए । वर्तमान सरकार डरबाट बनेको दाबी गर्दै सुशासन दिनका लागि नबनेको उनले बताए । उनले माओवादीअनुसारको पाठ्यक्रम, योजना र नीतिहरु बन्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।
उनले भने, ‘माओवादीको पहिलो सरकार, दोस्रो सरकार, तेस्रो सरकार हुँदा राम्रो बाहेक कुनै नराम्रो काम गरेकै छैन भन्नेकुरा बिर्सिएर कांग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारीलाई बचाउनै बनाएका हुन् त्यो सरकार । मैले त खुलेआम भनेको छु नि । सदनमै भनेको छु । यो सरकार डरबाट बनेको हो । अब आफू पनि पर्ने बेला आउनै लाग्यो भन्ने लागेपछि त्यसो भएर बनेको सरकार हो यो । यो सुशासन दिन बनेको सरकार हो र अनि यसले सुशासनको आशा गर्नु । अहिले माओवादीअनुसारको पाठ्यक्रम हुनुपर्ने, यो परिवर्तन उसले ल्याएको भएपछि नीतिहरु पनि त्यो अनुसार बन्नुपर्ने । किन बन्न सकेन भन्नेकुरामा ध्यान जान जरुरी छ । लास्टमा चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ । बच्दैन, बच्दैन । धेरै ठूलो अफ्ठ्यारोमा जान्छ ।’
उनले माओवादीले पनि विगतमा गरेका कमी, कमजोरीहरु सच्याएर अघि बढ्नुपर्ने जरुरी रहेको उल्लेख गरे ।