काठमाडौं : पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले राजनीतिक दलसम्बन्धी कानुनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा : उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
राजनीतिक दलहरू ऐनविपरीत लुकामारी खेलेजसरी चलिरहेको उनको आरोप छ । उनले राजनीतिक दलका केन्द्रिय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्ने ऐनमा व्यवस्था भएपनि कुनैपनि दलले त्यसको कार्यान्वयन नगरेको उल्लेख गरे ।
उनले आयोगलाई दलको कार्यालय छिर्ने अधिकार नभएकोले ऐन कार्यान्वयन गरे नगरेको अनुगमन गर्न पनि समस्या हुने गरेको बताए । उनी राजनीतिक दलहरू नै ऐनविपरित चल्दा मुलुको विकास, सुशानस र संस्थागत उन्नतिका विषयमा गम्भीर असर परेको बताए ।
उनले मुलुकको विकास र समृद्धिको दायित्व राजनीतिक दललाई भएको उल्लेख गर्दै उनले दलहरू मजबुत र संस्थागत नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको पनि बताए ।