काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दे महामन्त्री थापाले यस्तो बताएका हुन् । नेपाली कांग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ता हप्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्दै थापाले पद छोड्लान कि नछोड्लान भन्ने अन्योलमा बस्न नहुने बताए । उनले पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढेर सबैखाले लोभ र डर त्याग्न नसके पार्टी संगठन कमजोर हुनेप्रति सबै सजग हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘यो बेलामा नेपाली कांग्रेस पार्टी केबाट मुक्त हुनुपर्छ भने २०८४ सालमा मेरो अवस्था के होला भन्ने कुराबाट मुक्त हुनुपर्छ । यसपछि प्रधानमन्त्री आलोपालो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले जुन भन्नुहुन्छ नि त्योबाट मुक्त हुनुपर्छ । उहाँले हामीलाई सम्झाउनु हुन्छ नि । उहाँले छोड्नुहोला कि नहोला भन्ने अलमलबाट हामीले मुक्त हुनुपर्छ । यो समयमा हाम्रो पार्टीले गर्नुपर्ने कर्म सबै प्रकारको लोभ र डरबाट मुक्त भएर गर्यौं भने पार्टीले आफ्नो जिम्मेवारी निर्वाह गर्छ जसरी हामीले गर्दै आएका छौं । नेपाली कांग्रेसका सबै कार्यकर्ता पनि लोभ र डरबाट बाहिर निस्कनुपर्नेछ । र नेपाली कांग्रेस पनि निस्कनुपर्नेछ ।’
महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्नको लागि साहित्यकारहरुलाई उत्प्रेरित गर्नुपर्ने धारणा समेत राखे । गुट छोडे पनि लेखन कार्य नछोड्न उनले कार्यकर्ताहरुमा आग्रह समेत गरे ।