२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

जेठमा करिब ७५ हजार युवा गए वैदेशिक रोजगारीमा

shivam cement
२०८२ असार ५ गते ०६:१५
जेठमा करिब ७५ हजार युवा गए वैदेशिक रोजगारीमा

काठमाडौं : जेठ महिनामा करिब ७५ हजार युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने युवायुवतीको संख्या ७४ हजार ४६७ रहेको छ । त्यसमा ८ हजार १६५ जना महिला छन् । 

जेठमा म्यानपावर कम्पनीमार्फत ३३ हजार ६३८ जना वैदेशिक रोजगारीमा गएका छन् भने ११ हजार ९०५ जना व्यक्तिगत श्रम स्वीकृतिमा गएका छन् । जिटुजीमार्फत पठाइने इजरायल र दक्षिण कोरियामा एक हजार १७१ जना गएका छन् ।

जेठमा  सबैभन्दा बढी २४ हजार ७०४ जना यूएई गएका छन् । त्यसमा म्यानपावर कम्पनीमार्फत १६ हजार ५४७ जना गएका छन् ।

साउदी अरेबियामा ११ हजार ९६१ जना गएका छन् । म्यानपावर कम्पनीमार्फत उक्त मुलुकमा ६ हजार ६२० जना गएका छन् । कतारमा ११ हजार ९१ जना गएकोमा म्यानपावर कम्पनीमार्फत कतार २ हजार ६८१ जना गएका छन् ।

मलेसियामा ७ हजार २३० जना गएकोमा म्यानपावर कम्पनीमार्फत २ हजार ६८२ जना र कुवेतमा ४ हजार ६३० जना गएकोमा म्यानपावर कम्पनीमार्फत २ हजार ७५१ जना गएका छन् । म्यानपावर कम्पनीमार्फत हङकङमा २ जना, मकाउमा २ जना, चीनमा ९ जना, माल्दिभ्समा २० जना, जोर्डनमा १२५ जना, जापानमा २०७ जना, मौरिससमा ३४९ जना, बहराइनमा ४११ जना, ओमानमा ४२१ जना र साइप्रसमा ८१३ जना गएका छन् ।

चालु आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर  वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७ लाख ६० हजार ३९१ पुगेको छ । गत वर्ष ७ लाख ४१ हजार ९२७ जना वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगार विभागको यो तथ्यांकले श्रम बजारमा आउने नेपाली श्रमशक्तिको जीवनको प्रमुख आधार वैदेशिक रोजगार देखिएको र सरकारले स्वदेशमा रोजगार सिर्जना गर्न बजेट वा नीति तथा कार्यक्रममार्फत ल्याउने कार्यक्रम प्रभावकारी नभएको धेरैको टिप्पणी छ ।

ADV

सम्बन्धित खबर

Advertise