अर्घाखाँची : नेपालको सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
नगरपालिकामा खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोपहरु पाएको प्रमाणीकरण भए पश्चात् पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
शितगंगाको ठाडामा आयोजित विशेष समारोहमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष जीवनारायण कोइरालाले नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरेसँगै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
शितगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका चार सय ४१ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएको र यो उमेर समूहका कोही बालबालिहरु खोपबाट बञ्चित नभएकोले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख कोइरालाले समृद्ध शितगंगा निर्माणका लागि सबैभन्दा महत्वपूर्ण नगरवासीहरु स्वस्थ हुनुपर्ने बताए ।
खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिनतर्फ सबै सचेत भए दिगोपना सुनिश्चित हुने उनको भनाइ छ । खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन सबैको भूमिका अपरिहार्य रहने भन्दै कोइरालाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि योगदान पुर्याउने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह,जनप्रतिनिधि लगायतको मेहनतको प्रशंसा गरे ।
कार्यक्रममा नगर प्रमुख छबिलाल पौडेलले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणालाई सफल पार्न अहोरात्र खटिने सबै सरोकारवालालाई प्रशंसासहित धन्यवाद दिएका थिए ।
उपप्रमुख गिता भाटले स्वास्थ्य विकासको मेरुदण्ड भएकोले यसको कार्यान्वयनमा सबैले ध्यानदिनुपर्ने बताइन् ।
खोप सुनिश्चितता दिगोपना र निरन्तरताको लागि अझै मेहनत गर्नुपर्ने बताउँदै भाटले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव कृष्णप्रसाद पोख्रेलले खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको बताए । पोख्रेलले २/४ दिन भित्रैमा जिल्लालाइपनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको भन्दै महत्वपूर्ण कार्यमा अहोरात्र खट्ने सबैलाई धन्यवाद दिए ।
नगर प्रमुख एवं नगर खोप समन्वय समितिका अध्यक्ष छबिलाला पौडेलको अध्यक्षता र स्वास्थ्य शाखाका लक्ष्मण पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसी,वडा नम्वर ४ का वडाध्यक्ष दामोदर अधिकारी, वडा नम्वर ७ का वडाध्यक्ष देविराम घिमिरे,जिल्ला खोप समन्वय समिति सदस्य उमा बन्जाडेलगायतले शुभकामन मन्तब्य राख्दै कार्यक्रमलाई दिगोपना दिलाउन आफुहरु प्रतिबद्ध रहेको बताएका थिए ।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थालाइलाई सम्मान समेत गरिएको थियो । पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता कायम राख्न कार्यक्रममा उपस्थित सबैले प्रतिबद्वता–पत्रमा हस्ताक्षर समेत गरेको शितगंगा नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले जानकारी दिए ।