काठमाडौं : मानवअधिकार तथा शान्ति समाजले इजरायली दूतावास अगाडि प्रदर्शन गरेको छ। इजरायल र इरानबिच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त भएको भन्दै बुधबार शान्ति समाजले विरोध प्रदर्शन गरेको हो ।
युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
विश्व शान्तिका लागि युद्ध निषेध शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको मानवअधिकार तथा शान्ति समाजले तत्काल यो युद्ध अन्त्य गर्न आग्रह गरेको छ ।
गत जुन १३ शुक्रबारको दिन इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेको थियो ।
लगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रिएको थियो । उक्त क्रम विगत ६ दिनदेखि जारी छ ।
इजरायल–इरान संघर्षमा हालसम्म २४८ इरानीको मृत्यु भइसकेको र १ हजार २७७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इजराइली हमलामा करिब एक दर्जन इरानी उच्च सैनिक कमान्डर समेत मारिएका छन् । इजरायलतर्फ २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएका समाचार सार्वजनिक भएका छन् ।