२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

इजरायल–इरान युद्ध : सरकारले बनायो नेपालीको सुरक्षादेखि उद्धारको कार्य योजना

shivam cement
२०८२ असार ४ गते ०६:१५
इजरायल–इरान युद्ध : सरकारले बनायो नेपालीको सुरक्षादेखि उद्धारको कार्य योजना

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इरान र इजरायलबीचको युद्ध चर्किए भारत र चीनको सहयोग लिएर नेपालीको उद्धार गर्नेलगायतका योजना तयार पारेको बताएको छ ।

श्रम सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा मंगलबार गृह, परराष्ट्र, पर्यटन, कानुन मन्त्रालयसहित संसदीय समिति, नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतका सरोकारवालासहितको बैठकले युद्धले सिर्जना गर्ने समस्याबाट नेपाली कामदारहरूलाई सुरक्षित राख्ने र उद्धार गर्नेलगायतका पहल गर्ने निर्णय गरेको हो ।

बैठकले आवश्यक परेको अवस्थामा नेपाली श्रमिकको उद्धार गर्न राज्यका सबै संयन्त्र परिचालन गर्ने, इजरायल र इरानमा रहेका नेपालीलाई अन्य मुलुक भएर नेपाल आउन चाहेमा त्यस्ता मुलुकबाट भिसा उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय गरेको छलफलमा सहभागी संघका अध्यक्ष भुवनसिंह गुरुङले मध्यान्ह दैनिकलाई जानकारी दिए । बैठकले भारत र चीनले इजरायल र इरानबाट आफ्ना नागरिक उद्धार गर्दा नेपालीलाई पनि समेट्न कूटनीतिक माध्यमबाट अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा आपत्कालीन कामबाहेकका लागि मध्यपूर्वका देशको भ्रमणमा नजान ट्राभल एड्भाइजरी जारी गर्नेदेखि कामदार पठाउन ढिलाइ गर्ने विषयमा छलफल भएको थियो । ट्राभल एड्भाइजरी जारी गर्ने विषयमा सहमति भएपनि श्रम स्वीकृति रोक्ने र कामदार नपठाउने विषयमा कुनै निर्णय नभएको पनि अध्यक्ष गुरुङले जानकारी दिए ।

उनले भने, ‘कामदार नपठाउने विषय छलफलमा उठेको थियो, तर श्रम गन्तव्य मुलुकले कामदार लिन नरोकेसम्म नेपालले एकपक्षीयरूपमा कामदार नपठाउने निर्णय गर्नु अपरिपक्व हुने देखिएपछि त्यसमा कुनै निर्णय भएन । नियमितरूपमा कामदार पठाउन कुनै रोकावट छैन ।’

बैठकले युद्धबाट प्रभावित श्रमिकलाई मंगलबारदेखि नै मनोपरामर्श सेवा दिन वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषलाई निर्देशन दिएको छ । बैठकपछि इजरायल–इरानमा रहेका नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि परराष्ट्र मन्त्रालयले विवरण फारम तयार पारेर वेबसाइटमा राखेको छ ।

ADV

सम्बन्धित खबर

Advertise