२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

इजरायल–इरान युद्धले खाडीका सैयौं उडान रद्द

shivam cement
२०८२ असार ३ गते ०६:१०
इजरायल–इरान युद्धले खाडीका सैयौं उडान रद्द

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध तथा पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन् । परराष्ट्र मन्त्रालयमा मन्त्री डा राणालाई राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व तथा त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराए । 

त्यस अवसरमा मन्त्री डा. राणाले त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिँदै उनीहरुलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन् । राजदूत बासले हाल त्यहाँस्थित नेपाली नागरिक सुरक्षित रहेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपाली नागरिक सुरक्षित रहेका जानकारी गराएको थियो । पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा. राणाले तेल अभिव र दोहास्थित नेपाली राजदूतलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन पनि दिएकी छन् । 

मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने सो विज्ञप्तिमा उल्लेख छ । हाल इजरायलमा करिब ७ हजार नेपाली रहेका छन् । उनीहरूमध्ये कतिपयले तत्कालै नेपाली फर्किने अवस्था नरहेको बताएका छन् । कतिपयले इजरायलका विमानस्थल बन्द रहेको भन्दै चाहेर पनि नेपाल फर्किन नसक्ने बताएका छन् ।

इजरायल र इरानबीचको बढ्दो सैन्य गतिविधि, क्षेत्रीय द्वन्द्व र क्षेप्यास्त्र आक्रमणका कारणले मध्यपूर्वको हवाई उडान अस्तव्यस्त बनेको छ । जसका कारण खाडी मुलुक, युरोप र अमेरिका जाने नेपाली कामदार र अन्य यात्रु पनि समस्यामा परेका छन् । व्यापक हवाई अवरोधका कारण इजरायल, यूएई, कतार र टर्कीमा सोमबारसम्म ५ सयभन्दा बढी उडानहरू रद्द वा ढिलाइ भएका छन् ।

बृहत् क्षेत्रीय युद्धको डर बढ्दै जाँदा प्रचण्ड गर्मीका बीच त्यस क्षेत्रका यात्रुहरूले व्यापक ढिलाइ, अन्तिम मिनेटमा रद्द गर्नेजस्ता अनिश्चितताको सामना गरिरहेको बताइएको छ ।

द्वन्द्व क्षेत्रको केन्द्रमा रहेको इजरायलको तेल अभिव नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च मात्रामा उडान रद्द भएका छन् । इरानले इजरायली हवाई आक्रमणको बदलामा मिसाइल आक्रमण गरेपछि सुरक्षा चिन्ताका कारण शनिबारदेखि उडान प्रभावित भएका हुन् ।

डेल्टा एयर लाइन्स र केएलएमले खाडी क्षेत्रमा आफ्नो निर्धारित उडानहरू शतप्रतिशत रद्द गरेका छन् । फ्लाई दुबईले आफ्नो दैनिक ६० प्रतिशतभन्दा बढी उडान रद्द वा प्रभावित भएको बताएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल र शारजाह विमानस्थलमा ३६२ उडान रद्द भएका छन् ।

यूएईको उड्डयन क्षेत्रले सबैभन्दा गम्भीर असर खेपिरहेको बताइएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलले ८५ उडान रद्द र १८४ उडान ढिलाइ गर्दा कुल २६९ उडानमा अवरोध भएको बताएको छ । यूएईको अर्को प्रमुख विमानस्थल शारजाह अन्तर्राष्ट्रिय विमानस्थलले ३४ उडान रद्द र २३ उडान ढिलाइ गरिएको बताएको छ ।  

दुबईमा आधारित फ्लाईदुबई सबैभन्दा बढी प्रभावित भएको छ । उसले ६२ उडानहरू रद्द  र ५७ उडान ढिलाइ गरेको बताएको छ ।  एमिरेट्स एयरले १६ उडान रद्द र ८६ उडान ढिलाइ गरेको बताएको छ । एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, स्पाइसजेट, साउदिया र रोयल जोर्डनियनले पनि व्यापकरूपमा उडान रद्द गरेकोे बताएका छन् । 

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जटिलता देखिएको बताइएको छ । दोहामा सोमबारसाँझसम्म २२ वटा रद्द र ८३ वटा ढिलाइसहित जम्मा १०५ उडान प्रभावित भएका छन् । कतारको राष्ट्रिय ध्वजाबाहक कतार एयरवेजले २२ वटा उडान रद्द गरेको बताएको छ । फिनएयर, चाइना साउदर्न, जजीरा एयरवेजले पनि उडान कतौती गरेको बताएका छन् ।

इजरायल–इरान द्वन्द्वमा कतारले तटस्थ कूटनीतिक अडान कायम राखेको भए पनि बढ्दो क्षेत्रीय अस्थिरता र ओभरफ्लाइट जोखिमले एयरलाइन्सहरूलाई कतारी हवाई क्षेत्र हुँदै मार्गहरू परिवर्तन गर्न वा निलम्बन गर्न प्रेरित गरिरहेको बताएको छ ।

इस्तानबुलमा पेगासस एयरलाइन्सले ३४ उडान ढिलाइ र १५ उडान रद्द गरेको बताएको छ भने टर्किस एयरलाइन्सले १० उडान ढिलाइ भएको बताएको  छ । घुमाउरो प्रोटोकलका कारणले नियमित हवाई भाडामा वृद्धि गर्नु परेको कतिपय विमान कम्पनीले बताएका छन्  । इजरायल र इरानबीचको बढ्दो सैन्य टकरावको अन्त्य नभएसम्म मध्यपूर्वको हवाइ यात्रामा हाल देखिएको चुनौती यथावत् रहने बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise