काठमाडौं : भारतको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय राहदानी प्रयोग गरेर हङकङ उडान गर्न खोजिरहेकी एक २६ वर्षीया नेपाली महिला पक्राउ परेकी छन् । नेपाली मूलकी सुष्मिता राई हरियाणाकी बासिन्दा भएर हङकङ जाने क्रममा विमानस्थल टर्मिनल २ बाट पक्राउ परेको अध्यागमन अधिकारीहरूले बताएका छन् । रोजगार भिसा लिएकी उनले क्याथे प्यासिफिक उडानमा टिकट लिएकी थिइन् ।
विमानस्थलमा अध्यागमन अधिकारीले भारतीय पहिचान भएको कागजातहरू मागेपछि उनले आफ्नो प्यान कार्ड र आफ्नो मोबाइल फोनमा रहेको नेपालको राष्ट्रिय परिचयपत्र देखाएकी थिइन् । वरिष्ठ प्रहरी अधिकारीले सुष्मिता आफ्नी बहिनीको हरियाणामा रहेको घरमा विगत दुई वर्षदेखि बसेर बेंगलुरु गएको देखिएको बताएका छन् ।
प्रहरीले सुष्मितासँग राहदानीसँगै भारतीय आधार कार्ड र मतदाता परिचयपत्र पनि फेला पारेको थियो । उनले पश्चिम बंगालमा एजेन्टमार्फत ती कागजात प्राप्त गरेको बताएकी छन् । ती कागजातहरू प्रयोग गरेर उनले एजेन्टमार्फत भारतीय राहदानी प्राप्त गरेको बताइएको छ । सुष्मिताले आफ्नो परिचयपत्र र राहदानी प्राप्त गर्ने एजेन्टको नाम याद नभएको बताएकी छन् ।
भारतीय प्रहरीले विदेश उड्न खोज्दा विमानस्थलमा भारतीय परिचयपत्र भएका नेपाली नागरिकहरूलाई पक्राउ पर्ने क्रम केही समययता बढेको बताएको छ । पक्राउ परेकाहरूलाई जालसाजी, जाली कागजात वा राहदानी ऐनअन्तर्गत अनुसन्धान हुने बताइएको छ ।