लिस्बन : पोर्चुगलमा प्रख्यात नेपाली सेफ टंक सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्टले उत्कृष्ट अवार्ड प्राप्त गर्न सफल भएको छ ।
युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुरेन्टअन्तर्गत सेफ सापकोटाले राजधानी लिस्बनमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ युरोपकै शीर्ष १० मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट पुरस्कृत भएको हो । रेष्टुरेन्ट शीर्ष १० को अवार्डसँगै "परफर्मेन्स अफ द इयर २०२५-रोबो अवार्ड" गरी एकसाथ दुई अवार्डबाट पुरस्कृत भएको हो । 'फिफ्टी टप पिज्जा युरोप'ले स्पेनको राजधानी म्याड्रिडमा आयोजना गरेको कार्यक्रममा सापकोटालाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
प्रत्येक वर्ष प्रदान गरिने अवार्डअन्तर्गत यस वर्ष ‘युरोपको उत्कृष्ट १०औं पिज्जेरिया’ र ‘परफर्मेन्स अफ द इयर २०२५–रोबो अवार्ड’ प्राप्त गरेको रेष्टुरेन्टका सञ्चालक सापकोटाले जानकारी दिए । ‘र्फोनो दी ओरो’ युरोपको उत्कृष्ट १०औं र पोर्चुगलको सर्वोत्कृष्ट रेष्टुरेन्ट बन्नसमेत सफल भएको उनले बताए ।
“एउटा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्ट युरोपकै उत्कृष्ट १० भित्र पर्न सफल हुनु नेपाल र नेपालीका लागि गौरवको विषय हो”, खुसी व्यक्त गर्दै सापकोटाले भने, “उत्कृष्ट १० को अवार्ड पाउने पोर्चुगलकै पहिलो रेष्टुरेन्ट बन्नु आफ्नो व्यावसायिक जीवन र इतिहासकै ठूलो उपलब्धि हो ।”
‘फिफ्टी टप पिज्जा युरोप’ एक अन्तर्राष्ट्रिय गाइड हो, जसले हरेक वर्ष उत्कृष्ट पिज्जा रेष्टुरेन्टहरूको मूल्यांकन गर्दै शीर्ष ५० सूची सार्वजनिक गर्दछ । स्वाद, गुणस्तर, सेवा, वातावरण, परम्परागत पिज्जा निर्माणको शैली तथा ग्राहक सन्तुष्टिलगायतका मापदण्डहरूका आधारमा उत्कृष्ट रेष्टुरेन्टको मूल्यांकन तथा वर्गीकरण गर्ने गर्दछ ।
करिब २८ वर्षदेखि स-परिवार पोर्चुगल बस्दै आएका बागलुङ, दमेकका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुरेन्ट सञ्चालनमा छन् । पाककलामा उत्कृष्ट कला कौशल प्रदर्शन गरेकै कारण उनले दर्जनौं ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । केही महिनाअघि मात्रै इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटेर सापकोटाले निर्माण गरेको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘इटालीको स्वाद’ पोर्चुगलमा सार्वजनिक गरिएको थियो ।