काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द गरिएको छ । पटक पटक ताकेता गर्दा पनि कर तिर्न नटेरेपछि ती उद्योगमा ताला लगाइएको नगरले जनाएको छ ।
नगरप्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, स्थानीय उद्योग वाणिज्य संघलगायत सम्मिलित अनुगमन टोलीले नगर कार्यालयमा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका क्रसर उद्योग र इँटा उद्योगमा शुक्रवार ताला लगाएको हो ।
उक्त टोलीले तीन वटा इँटा उद्योग र एउटा क्रसर उद्योगमा ताला लगाएको छ । नगरको वडा नं ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म रु. ४५ लाख ८४ हजार कर नतिरेपछि उद्योगमा ताला लगाइएको हो ।
यस्तै कर नतिरेको वडा नं ६ मा रहेका कालीदेवी र चण्डेनी–नगरकोट ब्रिक्स इण्डष्ट्रिज प्रालि तथा वडा नं ७ मा रहेको दक्षिणकाली इँटा उद्योग इँटा उद्योगमा ताला लगाइएको छ । कालीदेवीले रु. ६१ लाख, ८४ हजार, दक्षिणकालीले रु. ४५ लाख, ८४ हजार कर तिरेका थिएनन् । चण्डेनी–नगरकोट ब्रिक्स उद्योग भने दर्ता नभएकाले बन्द गरिएको हो ।
नगरप्रमुख टोकबहादुर वाइबाले नगरको प्रावधानअनुसार पटक पटक कर तिर्न आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर ताला लगाइएको बताए । “नगरले तोकेको मापदण्ड तथा कर तिरेपछि मात्रै ताला खोलिनेछ”, वाइबाले भने । उनका अनुसार ताला नखुलाउँदासम्म उद्योगबाट कुनै पनि सामग्री बेचबिखन नगर्न निर्देशन दिइएको छ ।