काठमाडौंः भारत सरकारले बिहीबारको दुःखद् एयर इण्डिया विमान दुर्घटनाको औपचारिक अनुसन्धान सुरु गरेको छ । देशका नागरिक उड्डयनमन्त्री राम मोहन नायडूले यसको पुष्टि गरे । पछिल्ला मिडिया रिपोर्टहरूअनुसार २६५ जनाको शव अहमदाबाद शहरको स्थानीय सरकारी अस्पतालमा लगिएको छ ।
मृतकहरूमध्ये २४१ जना बोइङ विमानमा सवार थिए भने बाँकीको मृत्यु घटनास्थलको भवनमा रहेका नागरिकको भएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेको अन्तर्राष्ट्रिय प्रोटोकल अनुरूप विमान दुर्घटना अनुसन्धान ब्युरोले औपचारिक अनुसन्धान सुरु गरेको संघीय मन्त्रीले घोषणा गरे । स्थानीय मिडिया रिपोर्टहरूअनुसार विमानको पछाडिको भागमा ब्ल्याक बक्स फेला परेको थियो ।
मेडिकल कलेजको परिसरमा दुर्घटनाग्रस्त भएको विमानमा दुई पाइलट र १० क्याबिन क्रू सदस्यहरू बाहेक १६९ भारतीय नागरिक, ५३ ब्रिटिश नागरिक, सात पोर्चुगिज नागरिक र एक क्यानेडियन थिए । एयरलाइन्सले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दुर्घटनाको अनुसन्धानमा अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको बताएको छ । १२ वर्ष पुरानो बोइङ ७८७–८ विमान ब्क्ष्१७१ नम्बर भएको विमान उडान भरेको केही समयपछि ८२५ फिटको उचाइमा खस्यो । बीजे मेडिकल कलेजको परिसरमा दुर्घटनाग्रस्त भयो । जसले गर्दा भवनहरूमा गम्भीर क्षति पुगेको थियो ।
भारतीय बहुराष्ट्रिय समूह–एयर इण्डियाको स्वामित्वमा रहेको टाटा समूहले विमान दुर्घटनामा मारिएका प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ (११६,८५४ अमेरिकी डलर) क्षतिपूर्ति दिने बताएको छ ।