२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

पूर्वराष्ट्रपति भण्डारीसँग तरंगित एमाले

जीवन शर्मा
२०८२ जेठ २८ गते ०६:३०
पूर्वराष्ट्रपति भण्डारीसँग तरंगित एमाले

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियतालाई लिएर अनेक विश्लेषण भइरुहेको छ । एमालेभित्रै मत बाँझिएको छ । एउटा पंक्तिले भण्डारीको सक्रियतालाई स्वागत गरिरहेको छ भने अर्को पक्षले चर्को आलोचना गरिरहेको छ । 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै विश्वास पात्र बनेर दुई पटक देशको सर्वोच्च ओहदा राष्ट्रपति बनेकी भण्डारी पछिल्लो पटक ओलीलाई नै संशकित पार्नेगरी राजनीति गतिविधि गरिरहेकी छन् । 

उनको राजनीतिक दौडधुपलाई एमालेको राजनीतिमा मात्रै नभइ नेपालकै कम्युनिष्ट राजनीतिमा विशेष चासोका साथ हेरिएको छ । 

उनी राष्ट्रपतिमा सिफारिस हुनुुअघिसम्म ओलीकै समूहबाट उपाध्यक्ष थिइन् । भण्डारी गत साता १० दिने चीन भ्रमण सकेर स्वदेश फर्किनासाथ नेपालका वाममन्थी दलहरूले वाम एकताको चर्चा चलाएका थिए । 

तर भण्डारीले अहिले नै वामपन्थी एकता हुन नसक्ने प्रतिक्रिया दिँदै आएकी छन् । यद्यपि उनलाई नेकपा एमालेभित्रका एकाथरि नेताहरूले आगामी पार्टी नेतृत्वको भूमिकामा देख्न चाहेका छन् । तर अध्यक्ष ओली भने उनको पछिल्लो सक्रियताप्रति सन्तुुष्ट छैनन् । 

चीन भ्रमण सकेर फर्किए लगत्तै कोशी प्रदेश पुगेकी भण्डारीको सक्रियतालाई लिएर गत आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले टिप्पणी गरेका थिए । अनेरास्ववियुको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले भण्डारीको राजनीतिक आगमनलाई अस्वीकार गरे ।

ओलीको अनुपस्थितिमा उनकै गृहजिल्ला झापा पुुगेर नेता–कार्यकर्तासँग गरेको भेटघाटलाई अध्यक्ष ओलीले गुट निर्माण प्रयासको संज्ञा दिएका थिए । ‘तल तल ग्रुप बनेको सुनिरहेको छु’, भण्डारी लक्षित अभिव्यक्ति दिएका ओलीले भने, ‘यो ग्रुप र त्यो ग्रुप एमालेमा आवश्यक छैन । अहिले एमालेभित्र अर्को खेल हुन खोजेको छ । फलाना आउने रे, फलना आउने रे, को महासचिव, को उपाध्यक्ष, को कोषाध्यक्ष बन्ने रे ।’ 

भण्डारीलक्षित ओलीको अभिव्यक्तिले पार्टीभित्र भण्डारी समूह बलियो बन्न थालेको प्रष्ट देखिन्छ । भण्डारीले गुटबन्दी गर्न थालेको आरोप लगाउँदै त्यसको पछि नलाग्न ओलीले कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । 

‘महाधिवेशनबारे हामीबीच छलफल भएकै छैन’, ओलीले एक कार्यक्रममा भनेका थिए । तर भण्डारीको गतिविधि रोकिएको छैन । 

एक वर्षयताको सक्रियताले राजनीतिमा फर्किसकेको सन्देश दिएको छ । गत हप्ता चीनको १० दिने भ्रमण सकेर नेपाल आउनासाथ पूर्वक्षेत्रको भेटघाटमा निस्कीएकी भण्डारी झापा, सुनसरी र मोरङका एमाले कार्यकर्ताहरूसँग भेटघाट सकेर मंगलबार काठमाडौं फर्किएकी छन् । 

काठमाडौं आउने क्रममा मोरङ विमानस्थलमा भण्डारीले नेता–कार्यकर्तासँग भेटघाट र छलफल गर्न पार्टीको अनुमति नचाहिने भन्दै अध्यक्ष ओलीको बोलीप्रति टिप्पणी गरेकी छन् । ‘एमाले मैले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी हो’, ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भनिन्, ‘एमालेका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता छैन ।’

आफू एमालेमा फर्किएर काम गर्न इच्छुक रहेको संकेत गरेकी भण्डारीले पत्रकारहरूसँग भनेकी छन्, ‘जहाँ जसरी हुन्छ काम गर्ने हो । ओलीजीले महाधिवेशन आएपछि नेतृत्व निर्माण हुन्छ, मिलाएर गर्छौं भनेर आश्वस्त गर्नुभएको हुनसक्छ’, उनले भनिन् ।

एमालेको अध्यक्ष बन्न आफूले गुटगत गतिविधि गरेको भनेर ओलीले लगाएको आरोपको उनले खण्डन गरिन् । ‘हामीले देशका लागि, नयाँ पुस्ताका लागि काम गर्नुपर्छ’, भण्डारीले भनिन्, ‘त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन ।’ 

आफू राष्ट्रपति बन्नुअघि पनि एमालेमै काम गरेको स्मरण गराउँदै भण्डारीले पार्टीमा परिचित भएको नेतालाई कार्यकर्ताहरूले कार्यक्रममा बोलाउनुलाई नेताहरूले अस्वभाविकरूपमा लिन नहुुने टिप्पणी गरिन् ।

भण्डारी कोशीमा रहँदा मोरङ र सुनसरीमा चार दिन बसेर झापाको पार्टीको कार्यक्रममा प्रमुख अतिथि बनेर उनी काठमाडौं फर्किएकी छन् । दुई कार्यकाल राष्ट्रपति भएकी उनी पार्टीको नवौं महाधिवेशनमा ओलीकै प्यानलबाट उपाध्यक्ष भएकी थिइन् । २०७२ साल कात्तिकमा देशको दोस्रो राष्ट्रपति बनेकी भण्डारीलाई एमालेले २०७४ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाएको थियो । दुई कार्यकाल देशको सर्वोच्च पदमा पुगेर उनी २०७९ फागुनमा शीतल निवासबाट बाहिरिएसँगै राजनीतिक गतिविधिमा सक्रिय हुँदै आएकी छन् ।

ADV

सम्बन्धित खबर