२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

तेस्रो दम्माम च्याम्पियन कपको उपाधि आयोजक युनाइटेडलाई

अन्जान गुभाजु
२०८२ जेठ २६ गते २०:११
तेस्रो दम्माम च्याम्पियन कपको उपाधि आयोजक युनाइटेडलाई

दम्माम, साउदी अरब : साउदी अरेबियाको पूर्वी क्षेत्र दम्माममा आयोजित तेस्रो दम्माम च्याम्पियन कप–२०८२ को उपाधि आयोजक युनाइटेड नेपाल फुटबल क्लब दम्मामले जितेको छ । मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिता जेठ २३ गते शुक्रबारदेखि २५ गते आइतबारसम्म (२०२५ जुन ६–८) तीन दिनसम्म सञ्चालन भएको थियो । खेलहरू अलखोबारको अजेजियाको तुक्वा खेल मैदानमा सम्पन्न भएका थिए ।

No description available.

आइतबार बिहान अजेजिया मैदानमा सम्पन्न फाइनल खेलमा युनाइटेड नेपाल फुटबल क्लब पाथीभरा फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भयो । प्रतियोगितामा साउदी अरेबियाका विभिन्न शहरबाट सहभागी २१ नेपाली फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

विजेता युनाइटेड क्लबले नगद ७ हजार ७७७ साउदी रियाल (अन्दाजी २ लाख ८० हजार नेपाली रुपैयाँ), ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्‍यो भने उपविजेता पाथीभरा क्लबले ४ हजार ४४४ साउदी रियाल (अन्दाजी १ लाख ६० हजार नेपाली रुपैयाँ), ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझायो ।

No description available.

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा व्यवस्थापकहरूलाई विशेष सम्मान गरिएको थियो । युनाइटेड क्लबका तर्फबाट उज्वल घिमिरे उत्कृष्ट गोलकिपर, विशाल पुन उत्कृष्ट डिफेन्डर, अर्जुन तामाङ उत्कृष्ट स्ट्राइकर, सनम देवान हाइ स्कोरर, कप्तान योञ्जन हमाल मोस्ट भ्यालुएबल प्लेयर, धर्मप्रसाद भट्टराई उत्कृष्ट कोच र ओमबहादुर कुमाल उत्कृष्ट म्यानेजर घोषित भए । पाथीभरा क्लबका राजेश उरा उत्कृष्ट मिडफिल्डर र सुशील माझी फाइनल म्याचको म्यान अफ द म्याच घोषित भए । अनुशासन र खेल भावनाका आधारमा चन्द्र–सूर्य फुटबल क्लबलाई 'फेयर प्ले टिम' घोषणा गरियो ।

No description available.

प्रतियोगिताको उद्घाटन साउदी अरेबियाका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले गरेका थिए । उद्घाटन समारोहमा साउदीस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

No description available.

उद्घाटन समारोहमा राजदूत डा. ढकालले भने, “विदेशी भूमिमा रहेर पनि नेपालीहरूबीच यस्ता खेलकुद कार्यक्रम हुनु अत्यन्त सराहनीय कुरा हो । यसले हाम्रो एकता, अनुशासन र सशक्त समाज निर्माणमा टेवा पुर्‍याउँछ । यस्ता प्रतियोगिताले नेपाली समुदायलाई अझ नजिक बनाउने मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो पहिचान बलियो बनाउन मद्दत गर्दछ ।”

No description available.

आयोजक क्लबले प्रतियोगिता सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण खेलाडी, व्यवस्थापक, स्वयंसेवक, दर्शक र समर्थकहरूलाई धन्यवाद ज्ञापन गरेको छ । यस्ता खेलकुद गतिविधिले साउदी अरबमा कार्यरत नेपाली आप्रवासी समुदायमा आपसी सद्भाव, मित्रता र एकताको भावना अझ प्रगाढ बनाउने आयोजक समितिको विश्वास छ ।

No description available.

No description available.

ADV

सम्बन्धित खबर