२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

ममाथिको आरोपको कानुनी उपचार हुन्छः अध्यक्ष नेपाल

लेखनाथ सिकारु
२०८२ जेठ २५ गते २१:२३
ममाथिको आरोपको कानुनी उपचार हुन्छः अध्यक्ष नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दलका कार्यकर्ताहरुलाई झोले होइन समर्पित बनाउनुपर्ने धारणा राखेका छन् । 

आइतबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले राजनीतिक दलले कार्यकर्ताहरुलाई राष्ट्रप्रति र जनताप्रति समर्पित बनाउनुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाउँदै उनले ओलीलाई आफ्नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउन तर झोले नबनाउन सुझाए । ‘वर्तमान सरकारका तौरतरिकालाई हेर्दा दिक्क लागिरहेको छ, त्यसैले सरकारलाई बेलाबेलामा सुझाव दिइरहेको छौं, सरकार गलत बाटो नहिँडोस्, गलत दृष्टिकोण त्यागोस्, आग्रह पूर्वाग्रह नलियोस्, देश र जनताको कल्याणको निम्ति इमान्दारिताका साथ लागोस्, आफ्नो कार्यकर्तालाई समर्पित बनाउनुहोस्, झोले नबनाउनुहोस्,’ उनले भने ।  

त्यस्तै उनले शक्तिशाली सरकार भएर पनि देश र जनताके पक्षमा राम्रा काम गर्न नसकेको बताए ।

उनले भने,‘सरकारले आफ्नो देशलाई राम्रो बनाउने कुरामा खोइ ध्यान दिएको ? जबकी यो भन्दा शक्तिशाली सरकार सम्भवत् अर्को बन्न सक्दैन् । संख्याको हिसाबले, पार्टीको हिसाबले पनि अत्यन्तै ठूलो रहेको सरकार अहिले देशमा हुँदा त्यसले पनि केही गर्न सकेन भने विकासको बारेमा प्रश्न उठाउनु स्वभाविक हो । जनतामा भएको निराशाको फाइदा उठाउन खोज्नु पनि स्वभाविक हुन्छ ।’

त्यस्तै उनले प्रतिस्पर्धाको राजनीतिमा आफूहरु लागिरहेको भन्दै प्रतिस्पर्धाबाट कुनै पनि हालतमा पछि नहट्ने दाबी गरे । 

अर्को प्रसंगमा उनले भने‘अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदै जाला । मैले अनुसन्धान हुनुहुँदैन भनेको छैन । म सुशासनको पक्षपाती हुँ । तर, मैमाथि यो किसिमको आरोप लागेको छ । यसको कानूनी उपचार हुन्छ । हाम्रा कानूनका जानकार साथीहरुले हजार पृष्ठको  दस्तावेजहरु अनुसन्धान गर्दै हुनुहुन्छ ।’ 

उनले थपे‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ । हामीले भनेका छौं सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस् ।  हामीले सरकारले गलत बाटो त्यागोस् । हामीले भ्रष्टाचारकोविरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएका छौं । सरकारलाई हामी खबरदारी समेत गर्दै आइरहेका छौं ।’  

बागमती प्रदेश कमिटी अध्यक्ष भीम दहालको अध्यक्षतामा बैठक बसेको थियो ।

ADV

सम्बन्धित खबर