काठमाडौं : १५ चैतमा राजावादीका नाममा भएको प्रदर्शनलाई हिंसात्मक बनाएर दुर्घटना निम्त्याएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन छन् । अदालतमा मुद्दा दर्तापछि सम्पर्क हुने सर्तमा छुटेका उनीहरू पार्टीका कार्यक्रममा सहभागी भएपनि कानूनी प्रक्रियामा भने सम्पर्कविहीन भएका हुन् ।
१५ जेठमा राप्रपाले गरेको आन्दोलनमा नदेखिएका उनीहरू पार्टीको आन्तरिक बैठक र आन्दोलन तयारी सम्बन्धमा हुने जमघटमा सहभागि हुँदै आएका छन् ।
सरकारी वकिल कार्यालय काठमाडौंले मिश्र र राणासहित ६५ जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको छ । त्यसमा ४ जना बालकसमेत प्रतिवादी छन् । यो मुद्दामा अहिले अदालतमा थुनछेक बहस भइरहेको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा ३९ जनाको सुनुवाइ भइरहेको जिल्ला अदालत काठमाडौंका श्रेश्तेदार तीर्थ भट्टराइले जानकारी दिए । त्यसमध्ये मिश्र र राणासहित ११ जना ‘फरार’ छन । पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाईं भने प्रहरी हिरासतमै छन् ।
राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि उक्त घटनाको अनुसन्धानका क्रममा रहेका मिश्र र राणामाथि मुद्दा दायर भएर अदालती प्रक्रिया अघि बढ्दासमेत सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । ‘हाजिरी जमानीमा लिएर बुझ्नेहरूले उहाँहरूलाई बुझाउन नसकेपछि दुवै प्रतिवादीका वकिलहरूलाई ५०÷५० हजार रुपैयाँका दरले जरिवाना तिराएका छौं’ उनले मध्यान्हसँग भने । समयमै उनीहरू कानूनी प्रक्रियाका लागि सम्पर्कमा नआएपछि प्रतिवादी मिश्र र राणा पक्षका कानुन व्यवसायीबाट जनही ५० हजार रुपैयाँ जरिवाना तिराइएको उनले बताए ।
११ जेठमा मुद्दा दर्ता गर्नुपूर्व प्रहरीले सम्पर्क गर्ने प्रयास गरेपनि उनीहरू जमानी अनुसार प्रहरीको सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उपचारका लागि छाड्नुपर्ने सरकारी वकिल कार्यालयको रायअनुसार राणालाई ७ वैशाखमा प्रहरीले हाजिरी जमानीमा छाडेको थियो । त्यस्तै सर्वोच्च अदालतले हाजिर जमानीमा राख्न दिएको आदेश अनुसार २ जेठमा मिश्रलाई छाडिएको हो । उनी ५० दिन हिरासत बसेपछि रिहा भएका थिए । हाजिर जमानीमा मिश्रलाई अधिवक्ता श्यामबहादुर शाही र वसन्त ब्लोनको जिम्मामा छाडिएको थियो । मिश्र अहिले दुवै जना वकिलको सम्पर्कमा समेत छैनन् । त्यस्तै प्रहरीले धवल शमशेर राणाकी श्रीमतीलाई सम्पर्क गर्दा आफू काठमाडौंमा भएको र श्रीमान नेपालगन्जमा भएको जवाफ दिएको प्रहरीले जनाएको छ । उनको मोवाईलमा फोन लागेपनि उठ्दैन । त्यस्तै मिश्रले भने प्रहरी हिरासतबाट छुटेदेखि मोबाइल बन्द गरेर हराएका छन् । राणा १० वैशाखमा भारतको मुम्बई गएर १४ वैशाखमा काठमाडौं फर्किएका थिए ।
मिश्र पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’का सदस्य सचिव समेत हुन भने राप्रपाका महामन्त्री राणा सोही समतिमा सदस्य छन् । मिश्र हिरासतमा रहेपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले अनुसन्धान सकिएको भन्दै हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । उनीविरुद्धको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । कानूनी प्रक्रियाका लागि नआए फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश दिन सक्ने कानून व्यवसायीहरूले बताएका छन् ।
१५ चैतमा तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईं र ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक ७६ वर्षीय सुवेदीसमेतले संयुक्त रूपमा प्रदर्शन गरेका थिए । सो प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको ज्यान गएको थियो । प्रदर्शनकारीहरूले व्यक्तिका घर तोडफोड आगजनी र भाटभटेनीमा लुटपाट मच्याएका थिए ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को उपदफा ४ अनुसार जरिवाना गर्न सकिने व्यवस्था छ । ‘तोकिएको समयमा त्यस्तो मानिस (जमानीमा छुटेका व्यक्ति) नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ,’ उक्त उपदफामा भनिएको छ । यस अनुसार नै अनुसन्धान अधिकृतले उनीहरूलाई जरिवाना गरेको अदालत श्रोतको भनाइ छ ।