सिन्धुली : नेपालमा नै रोजगार सिर्जना गर्न उद्योग वाणिज्य कार्यालय सिन्धुलीले २ सय जना युवालाई तालिम र १ सय १३ जनालाई प्रविधि सहयोग प्रदान गरेको छ ।
सिन्धुलीमा सञ्चालन भएका साना तथा लघु उद्यमीहरुलाई क्षमता विकास गरी आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले २ सय जनालाई तालिम प्रदान गरिएको हो । सिलाइ कटाइ, मूडा बुन्ने तालिम, अचार बनाउने तालिम, ढाका र मखमलको चप्पल बनाउने तालिम, मादल तथा डम्फु बनाउने तालिम र कृष्टलका माला बनाउने तालिम जस्ता व्यवसायिक तालिम प्रदान गरिएको उद्योग वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव ढकालले जानकारी दिए ।
दुधौली र कमलामाई नगरपाकिलामा ३÷३ वटा, फिक्कल गाउँपालिकामा २ वटा र हरिहरपुरगढी, मरिण सुनकोशी र तीनपाटन गाउँपालिकामा १/१ वटा तालिम संचालन भएको प्रमुख ढकालले जानकारी दिए ।
तालिमबाट दक्षता हासिल गरेपछि साना उद्यमीको आयआर्जनमा वृद्धि हुने अपेक्षा राखिएको छ । प्रविधि सहयोग हस्तान्तरणका लागि १ सय ७४ वटा निवेदन परेकोमा यस वर्ष १ सय १३ जनालाई सहयोग हस्तान्तरण गरिने भएको छ ।
व्यवसाय सञ्चालन गरिरहेका तर प्रविधिको अभावमा व्यवसाय विकास गर्न नसकिरहेका साना व्यवसायीलाई प्रविधि हस्तान्तरण गरिन लागिएको प्रमुख ढकालले बताए ।
कृषि व्यावसायका लागि हाते ट्याक्टर, पानी तान्ने मोटर, गाईलाई बस्न मिल्ने म्याट, टनेल घर, मौरी घार जस्ता प्रविधि हस्तान्तरण गरिने प्रमुख ढकालले बताए ।
५० प्रतिशत अनुदान सहयोग हालसम्म ३९ जनाले लिइ सकेको र ४१ जनाले सम्झौता गरेको कार्यालय प्रमुख ढकालले बताए । प्रविधि सहयोग हस्तान्तरणको लागि यस आर्थिक वर्षमा ३० लाख बजेट रहेको कार्यालयले जनाएको छ ।