२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

मिश्र र राणा सम्पर्कविहीन भएपछि जमानी बसेकालाई जरिवाना

मध्यान्ह
२०८२ जेठ २२ गते १७:२८
मिश्र र राणा सम्पर्कविहीन भएपछि जमानी बसेकालाई जरिवाना

काठमाडौं : तीनकुनेको हिंसात्मक राजावादी प्रदर्शनमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा छुटेयता सम्पर्कविहीन भएका छन् । लामो समय सम्पर्कमा नआएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले दुवै जनालाई हाजिर जमानीमा बसेका वकिललाई २५/२५ हजार रुपैयाँ जरिवाना लगाएको छ । 
परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले वकिलहरूलाई २५/२५ हजार रुपैयाँ जरिवाना गरेको पुष्टि गरे । ‘वकिलहरूले भनेका बेला अभियुक्तहरूलाई हाजिरी गराउन सक्नुभएन । यस कारण मुलुकी फौजदारी कार्यविधि संहिताका आधारमा जरिवाना गरिएको छ,’ उनले भने । 

मुलुकी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा (१) बमोजिम हिरासत मुक्त भएको व्यक्तिलाई उपदफा (२) अनुसार मुद्दा चलाउने अवस्था भएमा हाजिर जमानीमा बस्ने व्यक्तिले उपदफा (३) प्रहरी वा सरकारी वकिलले भनेका बखत उपस्थित गराउनुपर्छ ।
नभए उपदफा (४)मा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान अधिकारीले ५० हजारसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ । प्रहरीले यही व्यवस्था प्रयोग गरेर मिश्र र राणाका वकिललाई जरिवाना गरेको हो । 

तीनकुनेको हिंसात्मक प्रदर्शनपछि सोही राति नै प्रहरीले मिश्र र राणालाई पक्राउ गरेर हिरासतमा राखेको थियो । हिरासतमै रहेका बेला क्यान्सरको फलो अप उपचार गर्न भारत जानुपर्ने भएकाले वैशाख ८ गते राणालाई हाजिर जमानीमा हिरासतमुक्त गरेको थियो । तर, उनी छुटेर गएदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

यस्तै लामो हिरासतमा बसेका मिश्रकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमाथि जेठ २ गते बसेको न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासले संकललन गर्नुपर्ने प्रमाण गरिसकेको देखिएको भन्दै हाजिर जमानीमा छाड्न आदेश दिएको थियो । त्यसै दिन उनी पनि हाजिर जमानीमा हिरासतमुक्त भएकाले थिए । 

प्रहरीले दुवै जनामाथि अभियोजन गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले राजद्रोह, आपराधिक उपद्रव, सङ्गठित अपराधको अभियोग लगाउँदै दुवै जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा पनि दायर गरिसकेको छ । 

मुद्दाबारे अदालतमा प्रहरीको सम्पर्कमा रहेका अभियुक्तको बयान पनि लिइसकेको छ । तर, मिश्र र राणा भने न प्रहरी र वकिलले बोलाउँदा उपस्थित भए, न अदालतको बयानमा पुगेका छन् । सोही आधारमा प्रहरीले अहिले हाजिर जमानीमा बसेका वकिललाई जरिवाना गरेको हो ।
 

ADV

सम्बन्धित खबर