२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

कतार र यूएई हिँडेका १० नेपाली भारतमा पक्राउ, फर्जी कागजात र गलत बाटोबारे अनुसन्धान जारी

२०८२ जेठ २२ गते ०६:१५
कतार र यूएई हिँडेका १० नेपाली भारतमा पक्राउ, फर्जी कागजात र गलत बाटोबारे अनुसन्धान जारी

काठमाडौं : भारतीय सुरक्षाकर्मीहरूले आफ्नो देशका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारमा जाने नेपाली कामदारमाथि कडिकडाउ सुरु गरेका छन् । नक्कली कागजातमा खाडी देशहरूमा उडान भर्न खोजिरहेको भन्दै गत हप्ता मुम्बई विमानस्थलमा १० जना नेपाली नागरिक पक्राउ परेपछि भारतीय विमानस्थलबाट सहजरूपमा खाडी मुलुकमा हुने नेपाली कामदारको यात्रा सन्देहको घेरामा परेको हो ।

पक्राउ परेकाहरूले आफू बिहारबाट अवैध तरिकाबाट सीमा पार गरेको र एजेन्टहरूलाई प्रतिव्यक्ति २ लाख ५ हजार नेपाली रुपैयाँ तिरेको बताएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले लेखेको छ । पक्राउ परेकामध्ये २ जनाले नक्कली कागजात प्रयोग गरेर भारतीय राहदानीसमेत लिएको बताइएको छ ।

गत मे २६ तारिकमा कतारको दोहा र यूएई यात्रा गर्ने क्रममा रामएकबल महतो, धनुक मोहम्मद, समीम आलम, राकी यादव, मोहम्मद हारुन मनिहार, मोबिन मुसलमान र जोगिन्द्र यादवलाई भारतीय अध्यागमन अधिकारीहरूले पक्राउ गरेका थिए । त्यसको ३ दिनपछि जोगिन्द्र विष्णु दास, अनिशकुमार सिजे दास, सिन्धुकुमार उपेन्द्र झा र झगारु राम सोभैत दास पक्राउ परेका थिए । 

भिजिट भिसा लिएका केहीले त्यहाँ कामको लागि जान खोजेको बताएका थिए । भारतीय अध्यागमन अधिकारी राधा मोरेले पक्राउ परेका नेपाली कामदारको भनाइ उद्धृत गर्दै  नेपालमा रहेका उनीहरूका एजेन्टको सल्लाहमा बिहारको पटनाबाट मुम्बईका लागि उडान लिएको खुलासा भएको बताइन् ।

उनीहरूसँग दिल्लीस्थित नेपाली दूतावासबाट जारी भएको वैदेशिक रोजगार अनुमतिपत्र पनि भेटिएको थियो । सहार प्रहरीको अनुसन्धानले खाडी देशहरूमा जान चाहने १० जना नेपाली नागरिकहरूले बिहार–नेपाल सीमामा रहेका ७ जिल्ला प्रयोग गरेर ६०१ किलोमिटर यात्रा गरी अवैधरूपमा भारत प्रवेश गरेको पत्ता लगाएको समाचारमा उल्लेख छ । पक्राउ परेका नेपालीहरू बिहारको पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज जिल्लाहरूबाट भारत प्रवेश गरेका थिए । 

एक अनुसन्धान अधिकारीले नेपाली नागरिकलाई भारत प्रवेशका लागि वैधानिक र सरल बाटो हुँदाहुँदै उनीहरू किन ७ जिल्ला पुगे भनेर छानबिन भइरहेको बताएका छन् । भारतीय प्रहरीले नेपाली एजेन्टहरू र उनीहरूका भारतीय सहयोगीहरूलाई खोजिरहेको पनि समाचारमा उल्लेख छ ।

पक्राउ परेकाहरूका सम्बन्धमा भारतीय अधिकारीहरूले नेपाली दूतावास नयाँदिल्लीमा सम्पर्क गरेको, तर उनीहरूको कुनै तथ्यांक नभएको पत्ता लागेको पनि समाचारमा उल्लेख छ । अध्यागमन अधिकारी अजय म्हात्रेले धानुकको कागजातमा अनियमितता पत्ता लगाएपछि अवैध नेपाली नागरिकहरूको पहिलो टोली पक्राउ परेको बताएका छन् । भारतीय प्रहरीले शाकिर यादव र अहमद नामका दुई व्यक्तिलाई झुटा कागजात खरिद बिक्रीमा संलग्न भएको र विगतमा उनीहरूले यस्तै तरिकाले अरूलाई पनि सहयोग गरेका थिए कि थिएनन् भन्ने बारेमा अनुसन्धान गरिरहेको पनि समाचारमा उल्लेख छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर