काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अवरुद्ध संसद छिटै खुल्ने विश्वास व्यक्त गरेका छन् । बुधबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले अहिले संसद अवरुद्ध रहेको र आज वा भोलिमै संसद सुचारु हुने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षहरुले छानबिन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठाइरहेको बताए । जसमा सरकारले गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिए मात्रै पुग्ने स्थिति रहेको उनले बताए । आरोपका आधारमा राजीनामा माग गर्नु उचित नरहेको उनको भनाइ थियो ।
मन्त्री गुरुङले भने, ‘संसद अवरुद्ध छ । दुई वटा माग प्रतिपक्षले उठाइरहेको छ । एउटा गृहमन्त्रीको राजीनामाको माग छ । अर्को छानविन समिति गठन होस् भन्ने छ । हाम्रो कुरा गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिएपछि पुग्छ । गृहमन्त्रीको विरुद्धमा ठोस प्रमाणसहितको कुनै केही छैन । गृहमन्त्रीको बारेमा छानविन नै नभएको हुनाले आरोपका आधारमा राजीनामा माग गर्नु उचित होइन । गृहमन्त्रीले संसदमा प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि संसद खोल्नुपर्छ । तीन नेताहरुबीच पनि छलफल भएको छ । सम्भवतः आज भोलिमा समस्याको समाधान हुन्छ भन्ने विश्वास छ ।’
मन्त्री गुरुङले यस बारेमा शीर्ष दलका तीन नेताहरुबीच छलफल भइसकेको पनि बताए ।