२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

वीरगञ्ज नाका: पाँच खर्ब छ अर्ब आयात र ७९ अर्ब निर्यात

मध्यान्ह
२०८२ जेठ २० गते ०७:५९
वीरगञ्ज नाका: पाँच खर्ब छ अर्ब आयात र ७९ अर्ब निर्यात

पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु. पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् रु. ५७ अर्ब ३० करोड बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् ।

चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थ मात्र रु. एक खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा रु. ४५ अर्ब ७९ करोड रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताउँछन् । चालु आवको १० महिनामा रु. २९ अर्ब दुई करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै रु २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा रु. २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन् ।

चालु आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ । चालु आवको १० महिनामा रु. ७९ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ । जबकि गत आवको १० महिनामा यो नाका हुँदै रु. २५ अर्ब ४८ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने दुई सय १० दशमलव १६ प्रतिशत अर्थात् रु. ५३ अर्ब ५५ करोड बढीको निर्यात भएको हो ।

चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ । चालु आवको १० महिनामा रु. ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकि गत आवको सोही अवधिमा रु. नौ करोडका चार लाख ६४ हजार ९३ लिटर मात्र निर्यात भएको थियो । चालु आवको १० महिनामा रु. सात अर्ब २७ करोडको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकि गत आवको १० महिनामा रु. १० करोडको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

ADV

सम्बन्धित खबर