काठमाडौं : ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरू बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । बैंकले रोल्पाको माडी गाउँपालिका–२ स्थित घर्तीगाउँ हेल्थ पोस्टमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक पर्ने सो उपकरण हस्तान्तरण गरेको हो ।
घर्तीगाउँका साथै स्याङ्जाको अर्जुनचौपारी र गुल्मीको पुर्तिघाटस्थित हेल्थ पोस्टमा पनि सो उपकरण प्रदान गरिएको बैंकले जानकारी दिएको छ । उक्त उपकरण हस्तान्तरणपछि त्यहाँका डाक्टर र नर्सलगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत् बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत यी तीनवटा बेबी वार्मरसहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यी उपकरणहरूमार्फत् हरेक वर्ष करिब दुई हजार २९४ भन्दा बढी नेपाली शिशुहरूलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको बताइएको छ ।
विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको विषयलाई हेरेर बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ ।