काठमाडौं : नेपाली कांग्रेसले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित भएको बताएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।
उनले मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको बताए । उनले जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको बताए ।
प्रवक्ता डा. महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले त्रुटिहरूलाई समाधान गर्नेगरी संविधान संशोधनका विषयहरू अगाडि बढाउनुपर्ने कुरा सरकारले गरेको स्पष्ट पारे ।
कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता आगामी असारसम्म सम्पन्न गर्न पार्टीलाई सक्रिय बनाउने विषयमा छलफल गरिएको छ । प्रवक्ता महतले पार्टीको केन्द्रीय कमिटीको बैठक छिट्टै बस्ने जानकारी दिए । उक्त बैठकमा गणतन्त्र, समावेशीता लगायतका संविधानले दिएका उपलब्धिहरुको रक्षा, पार्टीलाई सक्रियता बनाउने र आगामी दिनका आर्थिक रुपान्तरण लगायतका चुनौतीहरुको सामना गर्नेलगायतका विषयमा छलफल गरिने उनले बताए ।
आफूहरू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको बताउँदै राजावादीहरूका गतिविधिहरूलाई सरकारले नरोकेको उनले बताए ।