काठमाडौं : राजसंस्थासहितको हिन्दु राष्ट्र घोषणा र संघीयता खारेजीको मुख्य एजेण्डा बोकेर सडकमा निस्किएका राजावादीहरूको आन्दोलन उग्र बन्दै गएको छ ।
१७ औं गणतन्त्र दिवसको सन्दर्भ पारेर १५ जेठबाट पञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको अगुवाईमा थालिएको आन्दोलनले विस्तारै उग्ररूप लिन लागेको हो ।
गत ७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट भएको सार्वजनिक शुभकामना भिडियो सन्देशपछि सल्बलाएका राजसंस्था पक्षधर पछिल्लो पटक ४ दिनदेखि सडकमा ओर्लिएका हुन् । संयुक्त जनआन्दोलन समितिको ब्यानरमा भएको राजसंस्था फर्काउने आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपालसहित विभिन्न समुहले समर्थन गरेका छन् । आन्दोलनरत पक्षले राजसंस्था नफर्काउँदासम्म अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको हो । शान्तिपूर्ण, भद्र अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरूपमा हुने दाबी गरिएपनि पछिल्लो समय आन्दोलनको रूप फेरिदै अभद्र र उच्छृङ्खल बन्दै गएको हो ।
‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिका लागि सशक्त जनदबाब सिर्जना गर्न १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गर्दछौं,’ आन्दोलन थाल्नु पूर्व संयुक्त जनआन्दोलन समितिका संयोजन सुवेदीले भनेका थिए, ‘यो आन्दोलन शान्तिपूर्ण, भद्र अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरूपमा हुनेछ ।’ पहिलो दिन शान्ति र्याली निकालेका राजावादीहरूले चौथो दिन आइतबारसम्म आइपुग्दा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपति भवन शीतल निवासलाई टार्गेट गरेर अघि बढेपछि प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सीको स्थिति बनेको थियो । सोही क्रममा प्रहरीले राप्रपाका सांसद दीपक सिंह, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार राप्रपाका सांसद दीपक सिंह, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष थापालाई पक्राउ गरिएको हो । त्यस्तै पक्राउ पर्ने आन्दोलनकारीहरूमा ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र डा.राजीव झा छन् । थापासहित ७ जनाले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पक्राउ गरेको बोहराले बताए । आन्दोनलमा सहभागी नेताहरू पक्राउ परेको विरोधमा राप्रपा नेपालका कार्यकर्ताले राँके जुलुस निकाले । उनीहरूले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका थिए ।
सबै विचारधारा र शक्ति अटाउने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना तथा केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरूप अहिलेको भन्दा बढी अधिकार सम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार बनाउनुपर्ने आन्दोलनरत पक्षको माग छ ।
तर गणतन्त्रवादी राजनीतिक दलहरू यो विषयमा सहमत छैनन् । राजाको शासनकाल भोग्दै लामो संघर्षपछि राजतन्त्रात्मक व्यवस्था फालेर जनताको छोरो राष्ट्रपति हुने वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएकाले यो व्यवस्थाको विकल्प नभएको नेपाली कांग्रेसका नेता एनपी साउदले बताए । उनले भने ‘यो व्यवस्था भन्दा उत्तम व्यवस्था अरू हुनै सक्दैन । राजा ल्याउनुपर्छ भन्ने साथीहरूले त्यो बेलाको अवस्थालाई सम्झनुहोस् त कति कहालीलाग्दा दिनहरू थिए । त्यस कारण फेरि राजसंस्था आउँछ र ल्याउनपर्छ भन्नु देश र जनतालाई फेरि अध्यारोतर्फ लैजानु हो ।’ लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अझै सुदृृढ लोकतन्त्र मात्रै हुन सक्ने उनको धारणा छ ।
यद्यपि राजा भित्र्याउने अभियानमा लागेका नेताहरूले भने यो आन्दोलन नै राजा फर्काउने अन्तिम आन्दोलन जस्तो गरी अभिव्यक्ति दिदै आन्दोलनलाई उग्र बनाउनेतर्फ अग्रसर देखिएका छन् । नेपाल अहिले गम्भीर आर्थिक संकटको संघारमा आइपुगेको भन्दै २०७२ साल असोजमा जारी गरिएको संविधानले स्थापना गरेको संघीय, धर्मनिरपेक्ष गणतन्त्र पूर्ण रूपमा असफल प्रमाणि भएको उनीहरूको दाबी छ ।
आन्दोलनको स्वरूप फेर्ने चेतावनी
आइतबार आन्दोलनतर पक्ष र प्रहरीबीच असामान्यस्थिति हुदै आफ्ना नेताहरू पक्राउ परिेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अब आन्दोलनको रूप फेरिने बताएका छन् । घटनापछि पार्टीको आकस्मिक बैठक बसेर राप्रपाले आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका नेता, कार्यकर्तालाई रिहा गर्न मागसहित थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको बताए ।
आइतबार केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेको थियो । बैठकले राप्रपा नेपालका अध्यक्ष थापासहित गिरफ्तारमा परेका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्नसरकारसँग माग गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेका छौं’, उनले मध्यान्हसँग भने ।
निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रदर्शनमा प्रशासनिक हस्तक्षेप भएको भन्दै राप्रपाले भत्र्सना गरेको छ ।
प्रशासनको निषेधाज्ञा, राजावादीको बन्द
राजावादी आन्दोलनको स्वरूप फेरिएसँगै काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यी क्षेत्रमा २ महिनासम्म कुनै राजनीतिक गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । यस अघि राजावादीहरूको आन्दोलनलाई मध्यनजर गर्दै दरबारमार्ग क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
त्यस्तै राजावादी समूहले उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पक्षको भद्र आन्दोलनमाथि सरकारको दमनकारी नीतिका कारण आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको भन्दै राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले सोमबार उपत्यका बन्दको घोषणा गरेका हुन् ।
संयोजक सुवेदीले एक विज्ञप्ति जारी गर्दै सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाएको छ । ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा सोमबार १९ जेठमो उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले विज्ञप्तिमार्फत भनेका छन ।
उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनकारीहरूलाई आह्वान गरिएको छ । आइतबार आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष थापासहितमाथि प्रहरीले दमन गरेको राजावादी समूहले आरोप लगाएको छ ।