२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

शीर्ष नेतालाई विश्राम लिन दबाब

जीवन शर्मा
२०८२ जेठ १८ गते ०६:५१
शीर्ष नेतालाई विश्राम लिन दबाब

काठमाडौं : ललितपुरमा शनिबार सम्पन्न ‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रमका युवा नेताहरूले ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएकै दिनबाट सडकमा कुनै आन्दोलन नै देखा नपर्ने दावी गरेका छन् ।    

नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल र नेता रामकुमारी झाँक्रीसहित नेताहरूले आफ्ना धारणा राख्ने क्रममा वर्षैसम्म नागरिकले देशको नेतृत्वमा एउटै अनुहारमा देखिरहेकाले दलहरूप्रति वितृष्णा बढेको बताए । 

शीर्ष नेताहरूले विश्राम लिन उपयुक्त हुने बताउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको सबैभन्दा आधारभूत विषय भनेकै राजनीतिक दल भएको बताए । महामन्त्री थापाले शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छौँ भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरू हराउने दाबी गरे । 

थापाले भने, ‘जहाँ चाहिँ समाजले अस्वीकार गरेको कुनै व्यक्ति, म पात्रमा भएको होइन । यति लामो समयसम्म एउटै अनुहार एउटै भूमिकामा रहने चाहिँ विरलैमात्र हुन्छ होला । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या नै यही हो । मैले खुला भनेको छु, नेपालका ठूला पार्टीका ठूला नेताहरूले आजको दिनबाट हामीले आआफ्नो दलबाट विश्राम लियौँ भन्नुभयो भने आजकै दिनबाट यो आन्दोलन केही बाँकी रहँदैन । सबै घर फर्किन्छन् ।’ शीर्ष नेताहरूले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान नभएपनि धेरै समस्या बुझेर समाधान गर्न सकिने महामन्त्री थापाले बताए ।

एकीकृत समाजवादीका महासचिव भूसालले पार्टीहरू पञ्चायत जस्ता भएको बताए । पार्टीहरूको पञ्चायतीकरण कायमै रहेको भन्दै उनले भने ‘अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे । पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजातन्त्रात्मक शैली कायमै छ । लोकतन्त्रमा दल नसुध्रिकन हुँदैन ।’ 

गणतन्त्रवादी नेता र राजाका भारदारहरूको जीवनमा केही फरक नभएका कारण यो अवस्था आएकाले शीर्ष नेताहरू नै सुध्रिनुपर्ने वा नेतृत्व छाड्नुुपर्ने उनले बताए ।   

सोही दलकी नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमा प्रश्न उठ्ने समय नभएको तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिवद्धताअनुसार नेताहरूले काम नगरेको बताइन् । ‘यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्नेकुरा जिम्मेवारीवोध हामीले कम महशुस ग¥यौं कि ! तिलस्मी सपनाहरू बाँडेर मात्रै बस्यौं, काम गरेनौं त्यसै कारण गणतन्त्रलाई विवादित बनाइयो ।’ 

एमाले सचिव भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रूपान्तरणको आवश्यकता रहेको बताए । आवश्यक पर्दा राजनीतिक दल र नेताहरू रूपान्तरण भइरहेकाले गणतन्त्र आएको भन्दै उनले नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पु¥याउने काममा लाग्नुपर्ने बताए ।
 

ADV

सम्बन्धित खबर