बझाङ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय बझाङको आयोजनामा जोन/सुपरजोनका नयाँ क्षेत्रहरूमा अभिमुखीकरण कार्यक्रम अन्तर्गत साइपाल गाउँपालिकाका वडा नम्बर १ र २ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडाका जनप्रतिनिधि/कृषि प्राविधिक र अगुवा किसानहरूसहित ३५ जनाको सहभागिता रहेको थियो । पालिकाको १ र २ वडामा यस वर्षदेखि दलहन बाली जोन क्षेत्र समावेश भएको हो ।
कार्यक्रममा किसान तथा जनप्रतिनिधिहरूसँग अन्तरक्रियासँगै परियोजनाका कार्यालय प्रमुख चरित्रनारायण यादवले परियोजनाले संचालन गरेका गतिविधिबारे जानाकारी दिएका थिए ।
छलफलमा कृषकहरूले साना सिँचाइ, अस्थायी प्लास्टिक घर, नर्सरी निर्माण, रोग किरा व्यस्थापन, स्थलगत तालिम लगायत कार्यक्रम संचालन गर्नुपर्ने राय व्यक्त गरेका थिए ।
कार्यक्रममा साइपाल गाउँपालिका वडा नं २ का वडाध्यक्ष हरिलाल बोहराले साइपाल गाउँपालिकामा जोन र सुपरजोन क्षेत्र विस्तार भएकोमा खुसी व्यक्त गरेका थिए ।
विगतका वर्षहरु भन्दा अब आउने वर्षहरुमा आलु लगाउनेदेखि हरेक कुराहरु सहजीकरण हुने यो कार्यक्रम रहेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय बझाङले जिल्लामा १२वटै पालिकामा जोन र सुपरजोन क्षेत्रमा काम गरिरहेको छ ।
जसमा आलुजोन ४५ वटा वडामा संचालन गरिएको छ भने दलहन जोन १८वटा वडाहरमा काम गर्दै आएको कार्यालय प्रमुख यादवले जानकारी दिए । यो पटक साइपाल गाउँपालिकामा स्थलगत अध्ययन अनुसन्धान गरेर आगामी दिनहरूमा जोन र सुपरजोन क्षेत्रमा काम गर्ने पनि अभिमुखीकरण कार्यक्रम जानकारी दिएका थिए ।
कार्यक्रमको संचालन प्राविधिक दिपेन्द्र सिंहले गरेका थिए भने प्रमुख अतिथि साइपाल गाउँपालिका वडा नं २ का वडाध्यक्ष हरिलाल बोहरा रहेका थिए । कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख चरित्रनारायण यादवले गरेका थिए । विशिष्ट अतिथिमा वडा सदस्य कालि विक र सुरेन्द्र बोहरा रहेका थिए ।