काठमाडौं : नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको पदाधिकारी बैठकले लेखकविरुद्ध उठेका आरोपहरू प्रमाणविहीन भएको निष्कर्षमा पुगेको हो ।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकप्रति पार्टीले पूर्ण विश्वास राखेको स्पष्ट पारे । उनले भने, “गृहमन्त्रीजी भिसा अनियमिततामा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो दोषी छन्, उनीहरूमाथि कारबाही हुनु पर्दछ ।”
महतले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको बताउँदै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलिएका आरोपहरू वास्तविकतामा आधारित नभएको बताए ।
पार्टीभित्र गृहमन्त्रीको सचिवालयका केही सदस्यको नाम मुछिएपछि राजीनामाको माग उठ्न थालेको थियो । त्यसपछि उत्पन्न विवादका बीच पार्टीले आज आकस्मिक बैठक बोलाएको हो ।
यता, विपक्षी दलहरूले भने यदि लेखकले राजीनामा नदिए मंगलबारको संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
प्रवक्ता महतले भने, “विपक्षीले संसद अवरुद्ध गर्नुपर्ने कुनै ठोस आधार छैन । न गृहमन्त्री छानबिनको दायरामा पर्नुभएको छ, न त उहाँविरुद्ध प्रत्यक्ष प्रमाणसहित मुद्दा दर्ता गरिएको छ । केवल अफवाहका आधारमा संसद अवरुद्ध गर्नु लोकतान्त्रिक परम्पराविरुद्ध हो ।”
भिजिट भिसाको नाममा विदेशमा मानव तस्करी भइरहेको भन्ने आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागमा छापा मारेको थियो । यस क्रममा विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराई पनि पक्राउ परेका थिए । उनलाई सोही दिन छाडिएको थियो । उनीमाथि हाल अनुसन्धान जारी छ ।