झापा : कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने वित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ ।
सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरवासीको आकर्षण बढ्न थालेको छ ।
नगर अस्पतालको सेवामा विविधतासँगै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बताइन् । ‘चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ,’ उनले भने, ‘नयाँ भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा समस्या भइरहेको छ ।’
निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेकाले समस्या भइरहेको नगरप्रमुख प्रसाईंले बताए । अहिले नगर अस्पताल १५ शैयाको छ । यसलाई २५ शैयाको बनाउने लक्ष्य छ । ‘नगर अस्पताललाई विशेष प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।
नगर अस्पतालबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुन थालेपछि विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधि आउने गरेका नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताए ।
अस्पतालले चाँडै डायलाइसिस सेवा सञ्चालन गर्न लागेको छ । ‘६ वटा डायलाइसिस मेसिन दाताबाट प्राप्त भएको छ,’ उनले भने । नगरपालिकामा १ नगर अस्पताल र ८ वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । ३ करोड ९६ लाख रुपैयाँको लागतमा ८ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइसकेका छन् । १५ करोड ३४ हजार रुपैयाँको लागतमा नगर अस्पतालको भवन निर्माणको भइरहेको नगरप्रमुख प्रसाईंले बताए । भवन निर्माण भएपछि १५ शैयाबाट २५ शैयामा स्तरोन्नति गरिने छ ।
आधारभूत स्वास्थ्य केन्द्रबाट एक सय २७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले बताए । नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत हालसम्ममा ८९ हजार ७६४ जनाले स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ ।
बिर्तामोड नगर क्षेत्रमा घरमा प्रसूति गराउनेको दर ‘शून्य’मा झरेको प्रमुख विष्ट बताउनुहुन्छ । नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ । अस्पतालमा चिकित्सकसहित ६० जनाको जनशक्ति रहेको छ ।