काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले भेटवार्ता गरेका छन् । आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् ।
सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले महत्त्वपूर्ण र उपलब्धिमूलक पहल गर्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिएका थिए ।