अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलन यहि जेठ १० गते हुने भएको छ । कांग्रेस अर्घाखाँचीले यसअघि जिल्लाका ६१ वडा ६, पालिकाको सम्मेलन सम्पन्न गरेपछि जिल्ला र दुई क्षेत्रको सम्मेलन जेठ १० गते गरिने कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए ।
मंगलबार विपी स्मृति भवन सन्धिखर्कमा बसेको जिल्ला कार्यसमितिको बैठकमा सभापति श्रेष्ठले नेपाली कांग्रेस जिल्ला कार्य समितिको दोस्रो तथा क्षेत्रीय समितिको दोस्रो सम्मेलन संयुक्त रुपमा सन्धिखर्कमा जेठ १० गते गर्ने प्रस्ताव राखेपछि बैठकले सो प्रस्ताव अनुमोदन गरेको हो । बैठकले यही जेठ १० गते सन्धिसखर्कमा हुने दोस्रो जिल्ला सम्मेलन सम्पन्नका लागि जिल्ला तहका नेताहरुलाई विभिन्न उपसमितिको जिम्मेवारी प्रदान गरेको बैठकमा सहभागी कांग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनालले जानकारी दिए ।
दोस्रो जिल्ला सम्मेलनको खुला सत्र सन्धिखर्कस्थित सभागृहमा गर्ने निर्णय गरेको कांग्रेस सहसचिव कमल पौडेलले बताए ।
सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउन टोल–टोलबाट कांग्रेसमा आस्थावान नेता कार्यकार्तालाई सन्धिखर्कमा उतार्ने गरी सम्पन्न गर्न सबैलाई जिम्मेवार बनेर गाउँटोलमा खटिन सभापति श्रेष्ठले जिल्ला पदाधिकारी सदस्यहरुलाई निर्देशन दिएपछि सबै जिल्ला प्रदेश पालिका वडाका नेताहरु सम्मेलनको तयारीमा लागेको बैठकमा सहभागी जिल्ला सचिव अच्युत गौतमले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सभापतिदेखि महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, स्वास्थ्यमन्त्री तथा केन्द्रीय सदस्य प्रदिप पौडेल, केन्द्रीय सदस्य तथा सांसद डा.चन्द्र भण्डारी कांग्रेस नेता सन्जय गौतम, प्रदेश सभापति अम्बर पुन लगायत नेताहरुलाई निमन्त्रणा गरिने कांग्रेस उपसभापति बिण्णु प्रसाद भुसालले बताए । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
सम्मेलनमा पार्टीको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै संगठनलाई सशक्त क्रियाशील बनाउने राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन सम्मेलनबाट पारित गर्ने, संगठनलाई चलाएमान बनाउने गरी अगाडि बढ्ने कांग्रेस जिल्ला उपसभापति बाबुराम पौडेलले बताए ।
सम्मेलनको माध्यमबाट वैचारिक छलफललाई सूक्ष्म रुपमा अगाडि बढाउनुका साथै सम्मेलनले अर्घाखाँची कांग्रेसलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्रीले बताए ।