काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १ साता लामो चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी १० जेठमा चीन भ्रमणमा जान लागेकी हुन् ।
भ्रमणमा एमालेका नेताहरू पनि सहभागी हुने र उच्च राजनीतिक भेटघाट हुने कार्यक्रम तय भएको छ । उद्योगमन्त्री दामोदर भण्डारी, पूर्वमन्त्री तथा एमालेका नेता कर्ण थापालगायतको टोली भ्रमणमा जाने छन् ।
भण्डारीको चीन भ्रमण गत वर्ष जेठमै तय भएको थियो तर अन्तिम समयमा स्थगित भएको थियो ।
त्यसबेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने भएपछि भ्रमण रोकिएको थियो ।
त्यसबेला दाहालले आफू भारत जान लागेका बेला पूर्वराष्ट्रपति चीन जाँदा गलत सन्देश जाने सुझाएका थिए । त्यसबेला रोकिएकी भण्डारी यस पटक चीन यात्रामा निस्किन लागेकी हुन् ।
चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले उच्च राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम तय भएको छ तर को–कोसँग भेटवार्ता हुने भन्ने अहिलेसम्म खुलाइएको छैन ।
भण्डारीको सचिवालयका अनुसार भ्रमण तालिका तयार भइरहेको छ । पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्तासँगै मानसरोवरसम्म भ्रमण गर्ने कार्यतालिका छ । यद्यपि, चिनियाँ राष्ट्रपति सी चिनफिङँसँगको भेटवार्ता भने तय भएको छैन ।
स्रोतका अनुसार भण्डारीले सकेसम्म माथिल्लो तहकै चिनियाँ नेताहरूसँग भेट गर्ने तयारी छ । भण्डारीले राष्ट्रपति सी चिनिफिङ, प्रधानमन्त्री ली किआङ, उपराष्ट्रपति हान जिङ र चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूलाई समेत भेट्ने प्रयासमा छन् ।
गत वर्ष असारमा तय भएको पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण अन्तिम समयमा स्थगित भएको थियो ।
नेपाली राजनीतिक तरलताका बीच भण्डारीको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेपालका कम्युनिस्टहरूबीच एकता हुनुपर्ने आवाज उठिरहेका बेला पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जान लागेकी हुन् ।
कम्युनिस्ट एकताको पक्षमा रहेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनसमेत प्रयासरत छन् ।
चीन नेपालमा कम्युनिस्ट एकताको पक्षमा छ । २ पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा छन् ।
भण्डारी आगामी महाधिवेशनबाट एमालेको नेतृत्वमा आए अलग भएका कम्युनिस्ट पार्टीहरू जोड्ने माध्यम बन्ने राजनीतिक वृत्तमा चर्चा छ ।
उनले राष्ट्रपतिबाट बिदा भएपछि पछिल्लो समय गण्डकी, कोशी र लुम्बिनी प्रदेशमा पुगेर एमालेका सयौं नेता–कार्यकर्तालाई भेटघाट गरेकी छन् । त्यहाँ उनले आफू सक्रिय हुने आशय व्यक्त गरेकी थिइन् ।
भण्डारीले सार्वजनिक कार्यक्रम र अन्तर्वार्ताहरूमा समेत आफू राजनीतिमा फर्किने संकेत गरिसकेकी छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र)मा उपाध्यक्ष बन्दै राजनीतिमा फर्किसकेका छन् ।
पुनले राजनीतिमा फर्किने बाटो खोलेसँगै भण्डारीले नेपालमा राजनीतिक संवादलाई बाक्लो बनाइरहेका बेला चीन यात्रा गर्न लागेकी हुन् ।
उपाध्यक्ष घिमिरे चीन प्रस्थान
राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे ६ दिने औपचारिक भ्रमणका लागि सोमबार चीनको सान्सी प्रान्तको सियान शहर गएकी छन् । उपाध्यक्ष घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन् ।
चीनको सान्सी प्रान्तको सियान शहरमा ५ देखि १० जेठसम्म हुने ‘सांघाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च’ र ‘नवौं सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा पूर्व र पश्चिम चीनबीच सहयोगका लागि लगानी र व्यापार मञ्च’मा सहभागी हुने कार्यक्रम छ । दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने छन् ।
उनीसँगै प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव र उर्मिला माझी, राष्ट्रियसभा सदस्य बेदुराम भुसाल र सुमित्रा बीसी, संसद् सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह प्रतिनिधिमण्डलमा छन् ।