नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन् । सोमबार काठमाडौंमा सुवास घिमिरेले लेखेको विपी कोइरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे । तर सँगै कांग्रेसमा एउटा अवसर पनि रहेको उनले बताए । उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि कांग्रेसकै रहने बताए । उनले अब गभर्नर पनि कांग्रेसकै भागमा रहेको बेलामा पनि कांग्रेसीजनमा खुशी नरहेको बताए ।
महामन्त्री थापाले भने, ‘अब हाम्रो जेनेरेशनको साथीहरुले एउटा संकल्प गर्ने बेला आएको छ । नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ । उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ । तर म एउटा अवसर पनि छ भनिरहेको छु । नेपाली कांग्रेस पार्टीका सन्दर्भमा हामीले लामो समयदेखि टेक्निकल र ब्युरोकेटिक कुरा गर्यौं । चुनावको कुरा, चुनाव जित्नुपर्छ भन्यौं । को उम्मेदवार बन्ने कुरा गर्यौं । हामीले अहिले चुनाव जितेका छौं, नेपालको सबैभन्दा ठूलो पार्टी हो हामी अहिले । हामी सबैतिर सरकारमा छौं । हामी नभएको ठाउँ नै छैन । पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार । अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो । अब सबै हाम्रो । अब गभर्नर हाम्रो, उ हाम्रो, जताततै हाम्रो । खुशी हुनुपर्ने नि त कांग्रेस त । सबै हाम्रो भएको बेलामा किन खुशी नभएको त ? हामीले खोजेको त्यो होइन रहेछ ।’
महामन्त्री थापाले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको बताए । उनले नोपली समाजमा एउटा उकुसमुकुस रहेको बताए । बाहिर आउने र जानेकुरा चलिरहने उनले बताए । उनले नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने बताए । कांग्रेसलाई गनगन गर्ने र भाग्ने ठाउँ नरहेको उनको भनाइ थियो ।