२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

बक्स अफिस अन्तर्राष्ट्रिय इभेन्ट थाइल्यान्डदेखि श्रीलंकासम्म सम्पन्न

मध्यान्ह
२०८२ जेठ ५ गते १४:५५
बक्स अफिस अन्तर्राष्ट्रिय इभेन्ट थाइल्यान्डदेखि श्रीलंकासम्म सम्पन्न

काठमाडौं : बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजना र ग्लोबल एक्ट्रेस फेडेरेशन (विश्व कलाकार महासंघ)को सहकार्यमा सम्पन्न भएको दुई हप्ते अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम विभिन्न मुलुकहरू थाइल्यान्ड, मलेसिया, सिंगापुर, ब्रुनाइ र श्रीलंकामा भव्यताका साथ सम्पन्न भएको छ । वैशाख १९ गते शुक्रबारदेखि आरम्भ भएको यस बक्स अफिस अन्तर्राष्ट्रिय इभेन्टले नेपाली कला, संस्कृति र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्य बोकेको थियो ।

कार्यक्रममा सहभागी हुन नेपालबाट विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको टोली थाइल्यान्डतर्फ प्रस्थान गरेको थियो । टोलीले पतैयाको गोल्डेन बिच होटलमा आयोजित कार्यक्रममार्फत थाइल्यान्डमा पहिलो चरणको यात्रा सुरु गर्‍यो । सो कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान समारोह, सिर्जनात्मक अन्तर्क्रिया र पर्यटन प्रवर्द्धनसम्बन्धी विविध गतिविधिहरू सम्पन्न गरिएका थिए ।

May be an image of 2 people and text

कार्यक्रमको प्रमुख संयोजन थाइल्यान्ड पतैया सेक्टरका आजीवन सदस्य विक्रम अधिकारीले गरेका थिए । पतैयामा सम्पन्न कार्यक्रम अत्यन्त भव्य र व्यवस्थित ढंगमा सञ्चालन भएको आयोजकले जनाएको छ । त्यस्तै, थाइल्यान्डकै अर्को चर्चित पर्यटकीय स्थल फिपी आइल्याण्डमा आयोजित विशेष कार्यक्रम झनै आकर्षक बन्यो, जहाँ करिब २८ मिटर लामो नेपालको राष्ट्रिय झन्डा समुद्रको छेउमा फहराइयो र सांस्कृतिक झाँकी तथा प्रदर्शनहरू प्रस्तुत गरियो । यो प्रस्तुति नेपालप्रतिको सम्मान र राष्ट्रिय गौरवको प्रतीकको रूपमा उल्लेख गरिएको छ ।

फिपी आइल्याण्डसम्मको करिब ५ घण्टा लामो समुद्री यात्रा फुकेटबाट पानीजहाजमार्फत गरिएको थियो । यस रोमाञ्चक यात्रालाई थप स्मरणीय बनाउने उद्देश्यले आयोजकले उक्त स्थानमा नेपाली कला र संस्कृतिको समावेशीय कार्यक्रम सम्पन्न गरेको थियो । यस क्रममा, विश्व कलाकार महासंघका आजीवन सदस्यहरूमार्फत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरूमा पत्रकार टंक कार्की, समाजसेवी तथा व्यवसायी रामशरण बानियाँ, सामाजिक अगुवा मान बहादुर पुजु, निर्माता तथा कलाकार विश्वराम विष्ट, मोडल सन्ध्या दियाली लगायतका व्यक्तिहरू समावेश थिए । यस कार्यक्रमलाई थप ऐतिहासिक बनाउनेगरी भारतीय जनता पार्टीका नेता तथा अन्य सामाजिक-धार्मिक क्षेत्रका व्यक्तिहरूको पनि उल्लेखनीय आतिथ्यता रहेको थियो ।

थाइल्यान्डमा विविध कार्यक्रम सम्पन्न गरेपछि टोली सिंगापुर, मलेसिया र श्रीलंकातर्फ लाग्यो । ती मुलुकहरूमा पनि सांस्कृतिक कार्यक्रम, अन्तरसंवाद, सम्मान तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू भव्य रूपमा सम्पन्न गरियो । आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक आर. के. सुवेदीका अनुसार, सम्पूर्ण यात्रा अत्यन्त सफल र उद्देश्यअनुकूल भएको छ । नेपाली सांस्कृतिक प्रतिनिधित्वलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयासमा यो यात्रा एक कोशेढुंगा सावित भएको उनको भनाइ छ ।

May be an image of 3 people and text

अहिले आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रुप अर्को ठूलो कार्यक्रमको तयारीमा जुटेको छ । यही जेठ २७ गतेदेखि ३१ गतेसम्म "नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड" तथा "म्युजिक फुटबल कप २०८२" आयोजना हुँदैछ । यो कार्यक्रम नेपाली गीत-संगीत क्षेत्रको सम्मान, उत्साह र प्रतिस्पर्धालाई जोड दिने उद्देश्यले आयोजना गरिँदैछ, जसमा नेपालका चर्चित गायक, संगीतकर्मी, मोडल र सर्जकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । त्यस्तै, संगीतको माध्यमबाट खेलकुदलाई जोड्ने अभिनव प्रयास स्वरूप म्युजिक फुटबल प्रतियोगिता आयोजना गरिनेछ, जुन नेपालकै पहिलो र एकमात्र यस्तो कार्यक्रम हो ।

यसै सिलसिलामा, आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रुप र विश्व कलाकार महासंघले आगामी असार २० देखि २६ सम्म यूएई र ओमानमा सप्ताहव्यापी कार्यक्रमहरू गर्ने तालिका सार्वजनिक गरिसकेको छ । यस कार्यक्रमअन्तर्गत नेपाली कला, साहित्य, संगीत र संस्कृति सम्बन्धी विविध गतिविधिहरू आयोजना गरिनेछन् ।

त्यसपछिको योजनाअनुसार, साउनको तेस्रो साताबाट चीन, मकाउ, हङकङ र जापानमा पनि भव्य कार्यक्रम आयोजना गरिनेछ । यी कार्यक्रमहरूले नेपाली कलाकार, स्रष्टा र सांस्कृतिक अभियन्ताहरूलाई अन्तर्राष्ट्रिय सञ्जालमा जोड्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ । कार्यक्रम संयोजक सुवेदीका अनुसार, भविष्यमा अझ धेरै देशहरूमा यस्ता सिर्जनात्मक तथा सांस्कृतिक अभियान सञ्चालन गर्दै नेपालको पहिचानलाई विश्वव्यापी बनाउने लक्ष्य राखिएको छ ।

May be an image of 7 people, sailboat and sail

ADV

सम्बन्धित खबर