सुन्दरकुमार थकाली/रासस
मुस्ताङ पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ ।
सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर ३ स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायांकन गरिन लागिएको हो ।
हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली मुस्ताङ पुगेका छन् । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो ।
नेपालका विभिन्न जिल्लामा छायांकन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट छायांकनका लागि यहाँ आइपुगेको छायांकन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए । उनका अनुसार फिल्मका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ५० भन्दाबढी ट्रक र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएका छन् ।
घरपझोङ गाउँपालिका–५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ–१ को लक्कीमा फिल्मको छायाङ्कन हुने छ ।
यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायांकन गरिने छ ।
सगरमाथा आरोही शेर्पाको हिमाल आरोहण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायत परिदृश्य फिल्ममा समेटिने छ ।
मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायांकन भएको थियो । त्यसपछि सबैभन्दा ठूलो लागतको हलिउड चलचित्र ‘टासी’ छायांकन हुन लागेको हो ।
मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्म छायांकन भइसकेका छन् ।
यसैगरी सट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायांकन केन्द्र बन्दै जान थालेको छ ।